गान्तोक: राज्यका गरीबहरूले पनि शान्तिको निद्रा अनि सम्मानको जीवन जिउन पाउनुपर्छ भन्ने राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको सोचअनुरुप शुरु गरिएको सिक्किम गरीब आवास योजनाको दोस्रो चरणमा ग्रामीण क्षेत्रमा मोठ १० हजार घर निर्माण गर्न सरकारले हालै बसेको मन्त्रीमण्डलको बैठकमा धनराशि आवण्टन गरेको छ। गत २८ नोभेम्बरको दिन बसेको राज्य मन्त्रीमण्डलको बैठकले यसको निम्ति रु. २१५१.१६ करोड़ धनराशिमाथि स्वीकृति दिएको छ।
जानकारी गराइन्छ, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नेतृत्वमा रहेको राज्य सरकारले सिक्किम गरीब आवासय योजनाको २०२१-को सेप्टेम्बरदेखि शुरु गरेको थियो। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट शुभारम्भ गरिएको यस योजनाअन्तर्गत लगभग एक वर्ष नबित्दै ३०५० घरहरू निर्माण गरी लाभार्थीहरूलाई प्रदान गरिसकेको छ। यस अतिरिक्त राज्य सरकारले यसको दोस्रो चरणमा १० हजार घर बनाउने लक्ष्य राखेको राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले अगावै घोषणा गरिसकेका थिए। यसै अनुरूप गत २८ नोभेम्बरको दिन बसेको राज्य मन्त्रीमण्डलको बैठकमा यसको निम्ति धनराशि आवण्टन गरिएको छ। राज्यका मुख्य एवं वित्त मन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा राज्य सचिवालय टाशीलिङमा सम्पन्न बैठकमा राज्यका मुख्य सचिव भीबी पाठक लगायत अन्यको उपस्थिति रहेको थियो। बैठकमा विविध योजनाहरूको निम्ति धनराशि आवण्टन गरियो।