गान्तोक: राज्य सचिवालय टाशीलिङमा आज संविधान दिवस पालन गरियो। कार्यक्रममा सचिवालय परिसरमा रहेका विभिन्न विभागका अधिकारीहरूको सहभागिता रहेको थियो। भारतीय संविधानको प्रस्तावना पढेर उत्सव मनाइयो।
राज्यका अतिरिक्त मुख्य सचिव आर. तेलाङले उपस्थित सबैअघि संविधानको प्रस्तावना पढ़ेर सुनाए। प्रतिवर्ष 26 नोभेम्बरको दिन पालन गरिने संविधान दिवस सरकारी विदाको कारण आज पालन गरिएको हो।
जानकारी गराइन्छ, प्रतिवर्ष २६ नोभेम्बरको दिन संविधान दिवस पालन गरिन्छ। २६ नोभेम्बर १९४९-मा भारतीय संविधानलाई भारतको संविधान सभाले भारतको संविधान स्वीकार गरेको थियो। यसलाई पछि २६ जनवरी १९५०-देखि प्रभावमा ल्याइएको थियो। १९ नोभेम्बर २०१५-मा एक राजपत्र अधिसूचना जारी गरेर २६ नोभेम्बरको दिनलाई संविधान दिवसको रूपमा पालन गर्ने केन्द्र सरकारले घोषणा गरेको थियो।

राज्य सचिवालय टाशीलिङसँगै राज्यको सबै जिल्ला प्रशासनिक केन्द्रहरूमा जिल्लापाल लगायत अन्य अधिकारीहरूको उपस्थितिमा संविधान दिवस पालन गरियो।










