पैह्रो प्रभावित क्षेत्रको भ्रमण

IMG_20221128_223722.jpg

नाम्ची: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नाम्ची जिल्ला अन्तर्गत पाथिङ, याङगाङ पुगेर पैह्रोले प्रभावित क्षेत्रहरूको भ्रमण गरे। पैह्रोले पुऱ्याएको क्षतिको उनले आकलन पनि गरे। मुख्यमन्त्रीसॅंग मन्त्रीहरू केएन लेप्चा, बीएस पन्त, भीमहाङ सुब्बा र एबी दास, क्षेत्र विधायक राजकुमारी थापा, जिल्ला प्रशासन र विभागीय अधिकारीहरू आदि पनि सामेल थिए। मुख्यमन्त्रीले स्थानीय मानिसहरू र लाइन विभागका अधिकारीहरूसॅंग कुराकानी गर्दै पैह्रो प्रभावित परिवारहरूलाई सरकारको तर्फबाट हर सम्भव सहायता प्रदान गर्ने आश्वासन दिए। उनले यस क्षेत्रका मानिसहरूलाई आवश्यक सहायता प्रदान गर्न सतर्क अनि समर्पित बनेर काम गर्न निर्देश दिए। मुख्यमन्त्रीले प्रभावित परिवारहरूलाई तत्काल राहतको रूपमा भूराजस्व विभागको तर्फबाट १ लाख ३० हजार रूपियॉं, मुख्यमन्त्री राहत कोषबाट ५० हजार रूपियॉं प्रदान गर्ने घोषणा गरे। यसै गरी, उनले मुख्यमन्त्री राहत कोषबाट पशुधन गुमाउने व्यक्तिहरूलाई एक लाख रूपियॉं प्रदान गर्ने पनि घोषणा गरे। उनले प्रभावित परिवारहरूलाई सरकारी नोकरी प्रदान गर्ने पनि आश्वस्त गरे। मुख्यमन्त्री तामाङले भूराजस्व विभागका सम्बन्धित अधिकारीहरूलाई सिक्किम ग्रामीण आवास योजनाका लागि १० ऐकर जमीन अधिग्रहण गर्न निर्देश दिए, जसमा ग्रामीण विकास विभागले आवास निर्माण गर्नेछ। उनले मुख्यमन्त्री राहत कोषबाट चॉंडोभन्दा चॉंडो अस्थायी आवास निर्माण गर्न निर्देश दिए। यस अतिरिक्त, मुख्यमन्त्रीले प्रभावित परिवारहरूलाई पोर्टेबल वाटरसहित अन्य आवश्यक सहायताहरू प्रदान गर्न निर्देश दिए। उनले खानी तथा भूविज्ञान विभागलाई पैह्रो क्षेत्रको भ्रमण गरेर निरन्तर पैह्रो जानुको कारण बुझ्न निर्देश दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement