गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा शुरु गरिएको नियुक्ति अभियानले १० लाखभन्दा धेरै युवाहरूलाई रोजगार अवसर प्रदान गर्ने केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सुभाष सरकारले बताएका छन्। आइटीबीपीको क्षेत्रीय मुख्यालयद्वारा सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन को प्रेक्षागृहमा आयोजित रोजगार मेला कार्यक्रमलाई सम्बोधित गर्दै उनले यस प्रकारको आशय व्यक्त गरे।
भारत सरकारको विभिन्न विभागमा सामेल हुने विशाल कार्यबलको नयाँ पिँढीले व्यापक सामाजिक विकासलाई दिशा प्रदान गर्नका साथै नयाँ भारत निर्माण गर्ने प्रधानमन्त्रीको परिकल्पनाको पनि बलियो जग बसाल्ने कुरा पनि डा. सरकारले बताए। आइटीबीपी, एशएसबी, बीएसएफ र आसम राइफल्समा नियुक्ति पाउने सिक्किमका २४ जना अभ्यार्थीलाई बधाई दिँदै केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सरकारले नियुक्ति पत्र हस्तान्तरण गरे। युवाहरूलाई रोजगार अवसर प्रदान गर्नका साथै नागरिकहरूको कल्याण सुनिश्चित गर्ने दिशामा यो उल्लेखनीय कदम रहेको उनले बताए।
प्रधानमन्त्रीद्वारा शुभारम्भ गरिएको कर्मयोगी प्रारम्भ अभियानबारे विस्तार गर्दै डा. सरकारले यसमा सरकारी सेवकहरूका लागि आचार संहिता, कार्यस्थलको नैतिकता, कर्तव्यनिष्ठा, मानव संसाधन नीतिका साथमा नीतिहरूसँग अनुकूलित बन्दै नयाँ भूमिकातर्फ सुचारू रूपमा अग्रगमन गराउने लाभ अनि भत्ताहरू सामेल रहेको जानकारी दिए। यसका साथै आफ्नो ज्ञान, कौशल र दक्षता बढाउनका अतिरिक्त अन्य पाठ्यक्रममा अवसर खोज्न igotkarmayogi.gov.in –ले धेरै सहयोग गर्ने पनि डा. सरकारले जानकारी दिए।
भारत सरकारको कार्मिक एवं प्रशिक्षण मन्त्रालयद्वारा आयोजित रोजगार मेलाको दोस्रो संस्करणको अवसरमा देशभरीका कूल ७१ हजार युवालाई नियुक्ति पत्र प्रदान गरियो। देशभरी गान्तोकसहित विभिन्न राज्य अनि केन्द्र शासित प्रदेशको कूल ४५ स्थानमा रोजगार मेला आयोजन गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले कर्मयोगी प्रारम्भ मोड्युल पनि लोकार्पण गरे, जुन विभिन्न सरकारी विभागमा नयाँ नियुक्ति पाउनेहरूका लागि अनलाइन अभिविन्यास पाठ्यक्रम हो।
यसअघि केन्द्रिय कार्मिक राज्यमन्त्री डा. जीतेन्द्र सिंहले आफ्नो शुरुवाती सम्बोधनमा राष्ट्रव्यापी नियुक्ति अभियानको नेतृत्त्व र मार्गदर्शनका लागि प्रधिनमन्त्रीप्रति आभार व्यक्त गरे।
गान्तोकमा आयोजित कार्यक्रममा सिक्किम सरकारका स्वास्थ्य एवं परिवार कल्याण तथा सूचा प्रविधि मन्त्री डा. एमके शर्मा, प्रमुख निवेश सल्लाहकार जीपी उपाध्याय, शिक्षा सचिव डीसी नेपाल, सिक्किम विश्वविद्यालयका उपकूलपति डा. अविनाश खरे, आइटीबीपी गान्तोकका डीआइजी आरपीएस रघुवंशी तथा अन्य गण्यमान्यजन पनि उपस्थित थिए। कार्यक्रमको शुरुवातमा आइटीबीपी क्षेत्रीय मुख्यालयका डीआइजी आरपीएस रघुवंशीले स्वागत सम्बोधन पेश गरेका थिए।

पछि पत्रकारहरूलाई सम्बोधित गर्दै केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सुभाष सरकारले सिक्किमको दुईदिने आधिकारिक भ्रमणको अनुभूति साझा गर्दै विभिन्न क्षेत्रमा राज्यले गरेको प्रगतिको सराहना गरे।









