गान्तोक: मोटरसाइल दुर्घटनामा दुई व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना मङ्गन जिल्लाको चुङथाङ थाना क्षेत्र अन्तर्गत चुङथाङ-लाचेन मार्गमा भएको छ। घाइतेहरू पश्चिम बङ्गालको नाडिया निवासी हुन्। पुलिस रिपोर्ट अनुसार, तपसकुमार गुहा र झूलन रोरल एउटा बाइकमा गान्तोकबाट लाचेन गइरहेका थिए। चुङथाङ-लाचेन मार्ग अन्तर्गत तारम्चुमा मोटरसाइकल सड़कदेखि लगभग २० फुट तल झऱ्यो। दुर्घटनामा दुवै जनालाई गम्भीर चोट लाग्यो।
मोटरसाइकल तपस कुमार गुहाले चलाइरहेका थिए। उनको देब्रे पाखुरा भाचिएको छ। झूलन रोरलको टाउकोमा चोट लागेको छ। त्यो मार्ग भएर गुडिरहेका वाहनका चालकहरूले दुवैलाई चुङथाङ पीएचसी पुऱ्याए, जहॉंबाट दुवैलाई मंगन जिल्ला अस्पताल रेफर गरियो।