६ नोभेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको म्याचमा गोर्खा स्पोर्टिंग क्लब, नागरीले अनिकेत स्पोर्टिंग, बुङकुलुंगलाई ३-०-ले पराजित गऱ्यो। अब १३ नोभेम्बर (आइतवार)-मा खेलिने फाइनल म्याचमा गोर्खा स्पोर्टिंग क्लब नागरी र जंक्शन स्टार, सिलगढ़ीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै आज भएको गर्ल्स फूटबल टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा रविन्द्रनाथ हाई स्कूल, सौरेनीले मरमाह हाई स्कूललाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। आइतवार नै खेलिने गर्ल्स फूटबल टुर्नामेण्टको फाइनल म्याचमा रविन्द्रनाथ हाई स्कूल, सौरेनी र पाइनहल एकाडमीबीच भिड़न्त हुनेछ।