अलिपुरद्वार: बाघहरू चाँडै बक्सा टाइगर रिजर्व वनमा छोडिनेछ। अबको केही दिनमा विज्ञहरुको टोली बक्साको वनको भ्रमण गर्नेछ। प्रदेश प्रमुख वनपाल सौमित्रदास गुप्ताले शनिबार राजाभाटखावामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। बक्सा बाघ आरक्ष वनमा बाघको संख्या निकै कम रहेको उनले बताए। विगत दुई–तीन वर्षदेखि वन विभागले बाघ प्रजनन आयोजनामा काम गरिरहेको छ। चाँडै बाघ विज्ञहरूले बक्सा टाइगर रिजर्व वनको भ्रमण गर्नेछन्। यो टोलीमा ग्लोबल टाइगर फोरम, राष्ट्रिय बाघ संरक्षण प्राधिकरणका अधिकारी र वैज्ञानिकहरू छन्। बाघका लागि कुन क्षेत्र उपयुक्त छ? कुन-कुन पूर्वाधार विकास गर्नुपर्ने हो, विज्ञहरूले निर्णय गर्नेछन्। यसका साथै मौसममा विशेष ध्यान दिइनेछ। मौसम अनुसार यहाँ बाघ ल्याइनेछ। विज्ञ टोली आएपछि बाघलाई कहिले बक्स वनमा छाड्ने हो थाहा हुन्छ।

यससँगै बक्सा बाघ आयोजनाको केन्द्रमा रहेको भुटिया बनवस्ती, गंगुटिया बनवस्तीका बासिन्दालाई यहाँ बाघ छाड्नुअघि अन्यत्र सारिनेछ। प्रदेश सरकारका तर्फबाट वन विभागमा करिब १३५० कर्मचारी भर्ना भइरहेको र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको प्रमुख वनपाल सौमित्र दासगुप्ताले बताए। जसमा १ सय ७० फर्स्ट रेन्जर, १ सय ७५ वन कर्मचारी र १ हजार कर्मचारी रहेका छन्।