अहमदाबाद: प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार गुजरातको मोरबीमा भएको दुर्भाग्यपूर्ण पुल दुर्घटनाको अवस्थाबारे समीक्षा गर्न पीडितहरूलाई भेटेर घटनास्थलको भ्रमण गरेपछि उच्चस्तरीय बैठकको अध्यक्षता गरे। बैठकमा प्रधानमन्त्रीले यस दु:खद घडीमा अधिकारीहरूले पीडित परिवारसँग सम्पर्कमा रहन र उनीहरूलाई सबै प्रकारको सहयोगको सुनिश्चितता दिनुपर्ने बताए। सोही क्रममा अधिकारीहरूले प्रधानमन्त्रीलाई उद्धार कार्य र पीडितलाई दिइने सहयोगका बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री मोदीले यस दुर्घटनासँग सम्बन्धित सबै पक्षहरू पहिचान गर्ने विस्तृत र व्यापक अनुसन्धान गर्नु समयको आवश्यकता भएको बताए। उनले अनुसन्धानबाट सिकेका महत्त्वपूर्ण पाठलाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने बताए। यस बैठकमा मुख्यमन्त्री भूपेन्द्रभाई पटेल, गृह राज्यमन्त्री हर्ष संघवी, गुजरात सरकारका मन्त्री ब्रिजेश मेर्जा, गुजरातका मुख्य सचिव, राज्यका डीजीपी, स्थानीय कलेक्टर, एसपी, पुलिस महानिरीक्षक, विधायक र सांसद र अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
पुगेपछि प्रधानमन्त्रीले पुल दुर्घटनास्थलको निरीक्षण गरे। प्रधानमन्त्री मोदीले मोरबी जिल्लाको स्थानीय अस्पतालमा पनि पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए। उनले उद्धार तथा राहत कार्यमा संलग्न व्यक्तिहरुसँग पनि कुराकानी गर्दै उनीहरुको धैर्यताको प्रशंसा गरेका थिए। आइतबार साँझ माच्छु नदीमा रहेको झुण्डिएको पुल भत्किँदा १३५ जनाको मृत्यु भएको जानकारी गराउदछौँ। दुर्घटना हुँदा पुलमा करिब चार सय यात्रु थिए। विगत दुई दिनदेखि उद्धार कार्य जारी छ। यस अभियानमा एनडीआरएफ, एसडीआरएफ, सेनाका कर्मचारीहरू साथै स्थानीय पुलिसहरू संलग्न छन्। यो दुर्घटनाले सिंगो देशलाई हल्लायो। यस घटनाप्रति विश्वभरका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन्।