नाम्चीमा तीनदिने ‘सिक्किम अर्गानिक फुड समिट २०२६’ सम्पन्न

FB_IMG_1795798268517

​नाम्ची: सिक्किम सरकारको खाद्य प्रशोधन उद्योग विभागको आयोजनामा सञ्चालित तीनदिने ‘सिक्किम अर्गानिक फुड समिट २०२६’ नाम्चीस्थित सेन्ट्रल पार्कमा शुक्रबार सम्पन्न भएको छ। मंसिर ९ देखि ११ (नोभेम्बर २५–२७) सम्म चलेको उक्त सम्मेलनमा सर्वसाधारण, कृषक, उद्यमी तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
​’सद्भावको खेती, स्वास्थ्यको फसल’ (कल्टिभेटिङ हार्मोनी, हार्भेस्टिङ हेल्थ) मूल नाराका साथ आयोजित सम्मेलनले सिक्किमको जैविक (अर्गानिक) खाद्य तथा खाद्य प्रशोधन क्षेत्रको सम्भावना उजागर गर्ने मञ्च प्रदान गरेको छ। विशेषगरी उद्यमशीलता प्रवर्द्धन, मूल्य अभिवृद्धि र बजार सञ्जाल सुदृढीकरणमा सम्मेलन केन्द्रित रहेको थियो।

सम्मेलनमा जैविक कृषि उपज, प्रशोधित खाद्य वस्तु तथा कृषिजन्य पहलहरू समेटिएका विविध स्टलहरू राखिएका थिए। अवलोकनकर्ताहरूले राज्यको बढ्दो जैविक खाद्य उद्योगबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए।
​कार्यक्रममा ‘प्रधानमन्त्री सूक्ष्म खाद्य उद्योग उन्नयन योजना’ (पीएमएफएमई) र ‘प्रधानमन्त्री किसान सम्पदा योजना’ (पीएमकेएसवाई) का विभिन्न पक्षबारे जानकारी प्रवाह गरिएको थियो। खाद्य प्रशोधन उद्यम, पूर्वाधार विकास तथा कृषिमा आधारित उद्योगका लागि उपलब्ध सरकारी सहयोग र अवसरहरूबारे सरोकारवालालाई अवगत गराइएको थियो।

दिगो कृषि अभ्यासलाई प्रोत्साहन गर्दै जैविक मूल्य शृङ्खला बलियो बनाउने तथा ग्रामीण उद्यमशीलता र आर्थिक विकासका थप अवसर सिर्जना गर्ने विषयमा सम्मेलनले जोड दिएको छ। तीन दिनसम्म चलेको कार्यक्रममा स्थानीय जैविक उत्पादनप्रति देखिएको आकर्षणले राज्यभरका किसान र उद्यमीका लागि दिगो जीविकोपार्जनको बलियो आधार तयार हुने अपेक्षा गरिएको छ।

About Author

Advertisement