जैविक उद्यमशीलता र सरकारी योजनामा विशेष जोड
नाम्ची: सिक्किम सरकारको खाद्य प्रशोधन उद्योग विभागद्वारा आयोजित तीनदिने ‘सिक्किम अर्गानिक फुड समिट २०२६’ आज दोस्रो दिन पनि नाम्चीस्थित सेन्ट्रल पार्कमा उत्साहपूर्वक जारी रह्यो। गत २५ नोभेम्बरदेखि सुरु भएको यो सम्मेलन भोलि २७ नोभेम्बरसम्म सञ्चालन हुनेछ।
सम्मेलनले जैविक खाद्य तथा खाद्य प्रशोधन क्षेत्रका नयाँ पहल, सम्भावना र नवीन विकासहरूलाई प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ। कार्यक्रममा विशेषगरी उद्यमशीलताको प्रवर्द्धन, स्थानीय कृषि उत्पादनको मूल्य अभिवृद्धि (भ्यालु एडिसन) तथा बाली भित्र्याएपछिको व्यवस्थापनसम्बन्धी पूर्वाधार सुदृढीकरणमा जोड दिइएको छ।
समिटमा केन्द्र सरकारका प्रमुख योजनाहरू:- प्रधानमन्त्री सूक्ष्म खाद्य प्रशोधन उद्यम औपचारिकीकरण योजना (पीएमएफएमई) तथा प्रधानमन्त्री किसान सम्पदा योजना (पीएमकेएसवाई) अन्तर्गत उपलब्ध प्रावधान र सुविधाबारे सरोकारवालाहरूलाई विस्तृत जानकारी दिन विशेष प्राथमिकता दिइएको छ।
यी योजनाहरूले आर्थिक सहायता, कृषि प्रशोधन समूह, खाद्य प्रशोधन पूर्वाधार, एकीकृत शीत भण्डारण शृङ्खला (कोल्ड चेन) र खाद्य परीक्षण प्रयोगशालाको विकासमार्फत खाद्य प्रशोधन क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेका छन्। विशेषगरी पूर्वोत्तर क्षेत्र तथा भौगोलिक रूपमा विकट स्थानका उद्यमीहरूका लागि उपलब्ध अवसर र सहुलियतहरूमाथि सम्मेलनमा विशेष प्रकाश पारिएको छ।
सम्मेलनले किसान, उद्यमी तथा सरोकारवालाहरूलाई खाद्य प्रशोधन उद्योगका उदीयमान सम्भावना खोज्न, व्यावसायिक सञ्जाल विस्तार गर्न तथा स्थानीय जैविक उत्पादनको बजारीकरण गर्न प्रत्यक्ष अवसर जुटाएको छ।
कार्यक्रमस्थलमा जैविक कृषि उपज, प्रशोधित खाद्य सामग्री तथा यस क्षेत्रका नवीन पहलहरू समेटिएका विभिन्न प्रदर्शनी कक्षहरू (स्टल) राखिएका छन्। ती स्टलहरूले सिक्किमको विस्तार हुँदै गएको जैविक खाद्य क्षेत्रबारे आगन्तुकहरूलाई प्रत्यक्ष जानकारी प्रदान गरिरहेका छन्।
दिगो कृषि अभ्यासलाई प्रोत्साहन गर्नु, जैविक उत्पादनको मूल्य शृङ्खला सुदृढ बनाउनु तथा ग्रामीण उद्यमशीलता, रोजगारी र जीविकोपार्जनका अवसरमार्फत राज्यको आर्थिक विकासमा नयाँ आयाम थप्नु यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।





