गान्तोकमा भाजपा सिक्किमद्वारा ‘संविधान गौरव दिवस’ पालन

Screenshot_20261126_235448_Facebook

धारा ३७१एफ र सिक्किमका संवैधानिक मागप्रति प्रतिबद्धता

​गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज गान्तोकस्थित पार्टीको सिटी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ‘संविधान गौरव दिवस’ मनाएको छ। कार्यक्रममार्फत भाजपाले संवैधानिक मूल्यमान्यता, सिक्किमको विशिष्ट पहिचान तथा राज्यवासीका वैधानिक अधिकारहरूको संरक्षणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।
​पार्टीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार राज्य भाजपा उपाध्यक्ष एवं ओबीसी मोर्चाका राष्ट्रिय कार्यकारिणी सदस्य गिरिश चन्द्र राई, राज्य महासचिव दिनेश चन्द्र नेपाललगायत पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
​गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा २६ नोभेम्बर २००८ को मुम्बई आतङ्कवादी हमलाका पीडितहरूको स्मृति तथा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी दिवङ्गत माता धनमाया तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनेट मौनधारण गरिएको थियो।
​कार्यक्रमका मुख्य वक्ता एवं राज्य प्रवक्ता पासाङ ग्याली शेर्पाले भारतीय संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै भारत रत्न डा. बीआर अम्बेडकर तथा संविधानसभाका सदस्यहरूप्रति सम्मान व्यक्त गरे। नागरिकका मौलिक अधिकार र कर्तव्यबारे चर्चा गर्दै उनले सन् १९७५ मा सिक्किम भारतीय सङ्घमा विलय भएपछि राज्यको विशिष्ट पहिचान र संवैधानिक हैसियत जोगाइराख्ने धारा ३७१एफ को महत्त्वमाथि विशेष जोड दिए।
​प्रवक्ता शेर्पाले लिम्बू–तामाङ समुदायका लागि विधानसभा आसन आरक्षण र छुटेका समुदायलाई अनुसूचित जनजाति (एसटी) को मान्यता प्रदान गर्नेलगायत सिक्किमका महत्त्वपूर्ण संवैधानिक एवं प्रतिनिधित्वसम्बन्धी मागहरू उठाउँदै ती जायज मागहरूलाई अघि बढाउन भाजपा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे।
​कार्यक्रम सञ्चालन गर्दै राज्य सचिव निरेन भण्डारीले सार्वजनिक र राजनीतिक जीवनमा संविधानको सान्दर्भिकताबारे चर्चा गरे। उनले सन् २००३ मा लिम्बू र तामाङ समुदायलाई अनुसूचित जनजातिको मान्यता दिलाउन तथा सन् १९९२ मा नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश गराउन भाजपाले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गरे। सोही क्रममा उनले विगतका काङ्ग्रेस सरकारहरूको कार्यकालमा संवैधानिक प्रावधानहरूको दुरुपयोग भएको भन्दै चिन्तासमेत व्यक्त गरे।
​कार्यक्रमको अन्त्यमा भाजपा सिक्किमले संविधानको रक्षा, सिक्किमको विशेष पहिचानको संरक्षण र राज्यवासीका आकाङ्क्षाहरूको सम्बोधनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

About Author

Advertisement