जयशङ्कर र रामफुलबिच भेटवार्ता
नयाँ दिल्ली: भारतले मोरिससलाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउने तयारीलाई तीव्रता दिएको छ। बिहीबार नयाँ दिल्लीमा आयोजित ‘इन्डियन ओसन रिम एसोसिएसन’ (आईओआरए) को मन्त्रिपरिषद्को २५औँ बैठकका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर र मोरिससका विदेशमन्त्री धनञ्जय रितिश रामफुलबिच भेटवार्ता भएको हो।
भेटमा दुई देशबिचको द्विपक्षीय सहकार्यका विभिन्न आयाममा छलफल गरिनुका साथै मोरिससका लागि प्रस्तावित विशेष आर्थिक प्याकेजको प्रगतिबारे समीक्षा गरिएको छ। दुवै नेताले ‘उन्नत रणनीतिक साझेदारी’ लाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘पडौसी पहिलो’ र ‘भिजन महासागर’ मा जोड
वार्ताका क्रममा भारतको ‘पडौसी पहिलो’ (नेबरहुड फर्स्ट) र ‘भिजन महासागर’ नीतिअन्तर्गत मोरिससका विकास प्राथमिकतालाई सघाउने विषयमा पुनः जोड दिइएको छ।
विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भेटबारे जानकारी दिँदै लेखेका छन्, “इन्डियन ओसन रिम एसोसिएसनको मन्त्रिपरिषद्को २५औँ बैठकका अवसरमा मोरिससका विदेशमन्त्री रितिश रामफुलसँग भेट्न पाउँदा खुसी लाग्यो। हामीले द्विपक्षीय सम्बन्धका प्रमुख क्षेत्र तथा विशेष आर्थिक प्याकेजको प्रगतिबारे समीक्षा गर्यौँ। साथै भारत–मोरिसस रणनीतिक साझेदारीलाई अझ बलियो बनाउँदै भिजन महासागर र पडौसी पहिलो नीतिअनुरूप मोरिससको विकास प्राथमिकतालाई समर्थन गर्ने प्रतिबद्धता दोहोर्यायौँ।”
नेपालको सन्दर्भ र व्यापारिक सम्बन्ध
यसअघि नेपालका प्रधानमन्त्री बालेन शाहको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ हजार करोड नेपाली रुपैयाँको आर्थिक प्याकेजसहित विभिन्न परियोजनाको घोषणा गरेका थिए। छिमेकी तथा साझेदार मुलुकहरूसँगको सम्बन्ध थप विस्तार गर्ने क्रममा भारतले यस्तो पहल अघि बढाएको विश्लेषण गरिएको छ।
व्यापारिक साझेदारीतर्फ हेर्दा, भारतले कुनै अफ्रिकी मुलुकसँग गरेको पहिलो बृहत् आर्थिक सहकार्य तथा साझेदारी सम्झौता (सीईसीपीए) मोरिसससँगै गरेको हो। सन् २०२१ को फेब्रुअरीमा हस्ताक्षर भई सोही वर्षको अप्रिल १ देखि लागू भएको उक्त सम्झौताअन्तर्गत मोरिससले भारतका ३ सयभन्दा बढी वस्तुमा भन्सार शुल्क हटाउने वा सहुलियत दिने व्यवस्था छ भने भारतले मोरिससका ६ सयभन्दा बढी उत्पादनलाई प्राथमिकताप्राप्त बजार पहुँच प्रदान गरेको छ।





