खरसाङ: जीटीएका पूर्व प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाद्वारा मुख्यमन्त्री पीएस गोलेकी दिवंगत आमालाई सिक्किमको सोरेङस्थित पैतृक घर पुगेर व्यक्त गरे श्रध्दाञ्जली अर्पण गरेका छन्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेकी दिवंगत आमा धनमाया तामाङप्रति अनित थापाले श्रद्धाञ्जली अर्पण गरेका छन्। अनित थापा मुख्यमन्त्री गोलेको पैतृक घर सोरेङको सिङलिङ पुगेर शोकसन्तप्त परिवारसँग भेटघाट गरेका हुन्। उनले मुख्यमन्त्री गोलेलाई भेटेर समवेदना व्यक्त गर्नुका साथै खादा अर्पण गरी दिवंगत धनमाया तामाङप्रति श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा अनित थापाले ८७ वर्षीया धनमाया तामाङको निधन छोरा-छोरीका लागि अत्यन्तै दुःखद क्षण भएको उल्लेख गरेका छन्। उनले माता धनमायाले आफ्ना छोरा-छोरी मात्र नभई नाति-नातिनी, पनाति-पनातिनीसम्म देख्ने सौभाग्य प्राप्त गरेको बताउँदै उनले पूर्ण जीवन बाँच्नुभएको धारणा व्यक्त गरेका छन्।

आफ्नो समवेदना सन्देशमा थापाले मानिसको जीवन एक दिन समाप्त हुने भए पनि उसले छोडेर जाने विरासत महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्। धनमाया तामाङले मुख्यमन्त्रीकी आमाका रूपमा मात्र नभई एक आमाका रूपमा आफ्नो जीवनको विरासत छोडेर गएको उनको भनाइ छ। अन्त्यमा अनित थापाले दिवंगत धनमाया तामाङको आत्माको चिरशान्ति तथा वैकुण्ठवासको कामना गरेका छन्।





