खरसाङ: भारत सरकारको ‘नशामुक्त भारत अभियान’ अन्तर्गत दार्जिलिङ हिल युनिभर्सिटी, मङपूमा सचेतनामूलक कार्यक्रमका साथै स्वास्थ्य शिविर आयोजना गरियो। उक्त कार्यक्रम एनएचपीसी टिएलडीपी–३ को आयोजनामा दार्जिलिङ हिल युनिभर्सिटी, मङपूको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा आर.आर. पुलिस स्टेशन तथा मङपू पुलिस आउटपोस्टको पनि सहकार्य रहेको थियो। कार्यक्रममा एनएचपीसी टिएलडीपी–३ का महाप्रबन्धक अरुण सिंह, एनएचपीसीका वरिष्ठ चिकित्सा अधिकारी डा. सौमेन मण्डल, ग्रुप सिनियर म्यानेजर अनिवेश मार्क रिचर्ड्स, दार्जिलिङ हिल युनिभर्सिटीका उपकुलपति तेन्जिमाला गुरुङ, रजिस्ट्रार सुजाता रानी राई, आर.आर. पुलिस स्टेशनका ओसी वासिम बारी तथा मङपू पुलिस आउटपोस्टका ओसी आईनुल हकको विशेष उपस्थिति रहेको थियो। यसै गरी मङपू अस्पतालका डा. अरूप घोषाल तथा तकदाह स्वास्थ्य विभागका रुपेश सिङ्दान पनि कार्यक्रममा उपस्थित थिए। कार्यक्रमको सञ्चालन तथा उद्घोषणा डा. रोहिणी शर्माले गरेकी थिइन् भने मालरिया प्रधानले पनि कार्यक्रममा सहभागिता जनाएकी थिइन्। कार्यक्रमको मुख्य उद्देश्य समाजमा बढ्दो लागूपदार्थ दुर्व्यसनप्रति जनचेतना फैलाउनु, युवापुस्तालाई लागूपदार्थको कुलतबाट टाढा राख्नु तथा स्वस्थ र नशामुक्त समाज निर्माण गर्नु रहेको थियो।
कार्यक्रमकै अवसरमा तकदाह स्वास्थ्य विभाग तथा मङपू सिन्कोना अस्पतालको सहकार्यमा स्वास्थ्य शिविरसमेत आयोजना गरियो। शिविरमा स्थानीयवासी तथा कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो। कार्यक्रमका आयोजकहरूले नशामुक्त समाज निर्माणका लागि सरकारी निकाय, शैक्षिक संस्था, प्रहरी प्रशासन, स्वास्थ्य विभाग तथा आम नागरिकबीच सामूहिक सहकार्य र जनचेतना आवश्यक रहेकोमा जोड दिएका थिए।





