नाम्चीमा पहिलो पटक सम्पदामा आधारित दौड आयोजना हुने
नाम्ची। सिक्किमको पहिलो सम्पदामा आधारित दौड प्रतियोगिता ‘सिक्किम हेरिटेज रन २०२७’ को आधिकारिक पोस्टर आज अनावरण गरिएको छ। प्रतियोगिताकी मुख्य संरक्षक श्रीमती कृष्णा कुमारी राईले आयोजक समितिका अध्यक्ष सञ्जय दिलपाली राई तथा अन्य सदस्यहरूको उपस्थितिमा उक्त पोस्टर सार्वजनिक गर्नुभएको हो।
आगामी सन् २०२७ जनवरी १० तारिखका दिन नाम्चीमा आयोजना हुने यो दौड सिक्किमको इतिहासकै पहिलो सम्पदा-केन्द्रित (हेरिटेज-थिम्ड) दौड हुनेछ। शारीरिक तन्दुरुस्ती (फिटनेस), संस्कृति र सम्पदालाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ ‘रन सिक्किम’ को सहकार्यमा सिक्किम कला, संस्कृति तथा सम्पदा बोर्डले यस कार्यक्रमको आयोजना गर्न लागेको हो।
रोमाञ्चक खेलकुद मञ्चमार्फत शारीरिक स्वास्थ्य, सामुदायिक सहभागिता र राज्यको सम्पदाप्रतिको जनचेतना अभिवृद्धि गर्दै सिक्किमको समृद्ध सांस्कृतिक विरासतको उत्सव मनाउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।
आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक धावक तथा सर्वसाधारणका लागि आधिकारिक दर्ता (रजिस्ट्रेसन) लिङ्क यही शुक्रबार, २७ नोभेम्बर २०२६ मा सार्वजनिक गरिनेछ।





