रिमोटबाट फायरिङ र ड्रोन लन्चिङ

IMG_f2d1d534-5cd6-4cb1-8d8b-d14f4906c766

भारतीय सेनाको शक्ति बढाउँदै आधुनिक ‘बीएमपी–२’

​नयाँ दिल्ली: भारतीय सेनाले आफ्नो सैन्य क्षमता अभिवृद्धि र आधुनिक प्रविधिको प्रयोगलाई तीव्रता दिँदै बख्तरबन्द लडाकु सवारी ‘बीएमपी–२’ लाई अत्याधुनिक बनाउने विशेष परियोजना अघि बढाएको छ। युद्धमैदानमा जवानहरूको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले सेनाले केही बीएमपी–२ सवारीलाई रिमोटबाट नियन्त्रण हुने मानवरहित (अटोनोमस) लडाकु प्लेटफर्ममा रूपान्तरण गर्न लागेको हो। यस्ता बख्तरबन्द सवारीमा रिमोटबाटै फायरिङ गर्ने र ड्रोन लन्च गर्ने सुविधा रहनेछ, जसले अति जोखिमपूर्ण अभियानमा दुस्मनको क्षेत्रमा बिना चालक दल (क्रू) प्रवेश गरी कारबाही गर्न सक्नेछन्।
​भारतीय सेनाले बीएमपी–२ मा आवश्यक प्राविधिक परिमार्जनका लागि विभिन्न शैक्षिक संस्थानहरूसँग सहकार्य गरिरहेको छ। सुरक्षित डेटा लिङ्कमार्फत टाढैबाट सवारी सञ्चालन गर्न, हतियार चलाउन तथा सेन्सर र निगरानी उपकरणहरू परिचालन गर्न सकिने प्रविधि विकास गर्नु यस परियोजनाको मुख्य लक्ष्य हो। यसअघि सेनाले पुराना संस्करणका ‘टी–७२’ मुख्य युद्धक ट्याङ्कलाई पनि सन् २०३० मा अवकाश पाएपछि पुनः प्रयोगमा ल्याउन यस्तै स्वायत्त लडाकु सवारीमा रूपान्तरण गर्ने परियोजना सुरु गरेको थियो।
​भारतीय सेनाको बख्तरबन्द बेडामा चेनमा चल्ने (ट्र्याकयुक्त) बीएमपी–२ को भूमिका अत्यन्त महत्त्वपूर्ण छ। आठ जना पैदल सैनिक बोक्न सक्ने क्षमता रहेको यस सवारीका पुराना संस्करणहरू रासायनिक, जैविक तथा आणविक निगरानी, बख्तरबन्द एम्बुलेन्स र एन्टी–ट्याङ्क मिसाइल लन्चरका रूपमा प्रयोग हुँदै आएका छन्। अब विकसित गरिने आधुनिक क्षमताले यसलाई अग्रपङ्क्तिमा रहेर आक्रमण गर्न, ड्रोन प्रक्षेपण गर्न र रिमोटमार्फत कारबाही गर्न सक्षम बनाउनेछ।
​झन्डै चार दशकदेखि सेवामा रहेको बीएमपी–२ को विकल्पका रूपमा भारतीय सेनाले रक्षा अनुसन्धान तथा विकास सङ्गठन (डीआरडीओ) र निजी क्षेत्रसँग मिलेर नयाँ बख्तरबन्द सवारीका नमुनासमेत तयार पारिसकेको छ। मुख्यतः मैदानी र मरुभूमि क्षेत्रका लागि बनाइएको भए तापनि बीएमपी–२ लाई चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकका उच्च हिमाली क्षेत्रमा समेत तैनाथ गरिएको छ। बदलँदो युद्ध शैलीअनुसार यसको क्षमता बढाउन चालक र गनरका लागि ‘नाइट साइट’, कमान्डरका लागि ‘प्यानोरामिक साइट’, स्वचालित लक्ष्य पहिचान गर्ने ‘फायर कन्ट्रोल सिस्टम’ तथा ‘काउन्टर–ड्रोन’ उपकरणहरू जडान गरी स्तरोन्नति गरिँदै छ।

About Author

Advertisement