जल–थल–नभ तीनै क्षेत्रबाट आक्रमण गर्न सक्ने क्षमता
तेल अभिभ : अमेरिकास्थित ‘फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स’ (एफएएस) को न्युक्लियर इन्फर्मेसन प्रोजेक्टका वैज्ञानिकहरूले इजरायलको परमाणु हतियार भण्डारबारे नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेका छन्। ‘इजरायल न्युक्लियर वेपन्स–२०२६’ शीर्षकको उक्त प्रतिवेदनअनुसार इजरायलसँग हाल करिब ९० वटा परमाणु हतियार रहेका छन् भने थप १०० देखि २०० वटासम्म नयाँ परमाणु बम बनाउन पुग्ने ८०० देखि १,००० किलोग्राम प्लुटोनियम सञ्चित छ। इजरायलले परमाणु हतियार रहेको विषयलाई न औपचारिक रूपमा स्वीकार गर्छ न त अस्वीकार नै, तर उसले आफ्ना परमाणु पूर्वाधार र प्रविधिलाई तीव्र गतिमा स्तरोन्नति गरिरहेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२६ मा लिइएका भू–उपग्रह (स्याटेलाइट) तस्बिरहरूमा नेगेभ मरुभूमिस्थित ‘सिमोन पेरेस नेगेभ न्युक्लियर रिसर्च सेन्टर’ (डिमोना) मा व्यापक निर्माण कार्य भइरहेको देखिएको छ। त्यहाँ गहिरो उत्खनन, नयाँ भूमिगत सुरुङ र गोलाकार संरचनाहरू निर्माण भइरहेकाले इजरायलले सन् २०४० सम्म उक्त केन्द्र सञ्चालनमा राख्ने वा नयाँ रियाक्टर बनाउने योजनामा काम गरिरहेको अनुमान गरिएको छ। परमाणु अप्रसार सन्धि (एनपीटी) मा हस्ताक्षर नगरेका कारण इजरायलले अन्य देशबाट परमाणु रियाक्टर खरिद गर्न नपाउने भएकाले आफैँ पूर्वाधार विस्तार गरिरहेको वैज्ञानिकहरूको ठम्याइ छ।
इजरायलसँग जल, थल र नभ तीनै क्षेत्रबाट परमाणु आक्रमण गर्न सक्ने ‘न्युक्लियर ट्रायड’ क्षमता रहेको प्रतिवेदनले देखाएको छ। जमिनबाट आक्रमणका लागि इजरायलसँग करिब ५० वटा ‘जेरिको’ ब्यालिस्टिक मिसाइल रहेको आकलन छ, जसको मारक क्षमता १,५०० किलोमिटरबाट बढाएर ४,००० किलोमिटरसम्म पुर्याइएको छ। यसले इरान, पाकिस्तानदेखि रुसको मस्कोसम्मको भूभागलाई आफ्नो निशानामा राख्न सक्छ।
त्यस्तै, सामुद्रिक मार्गबाट परमाणु आक्रमण गर्न इजरायलले हाइफा नौसैनिक अड्डाबाट ६ वटा ‘डल्फिन–क्लास’ पनडुब्बी सञ्चालन गरिरहेको छ। पुराना पनडुब्बीलाई विस्थापित गर्न सन् २०३० तिर जर्मनीबाट अत्याधुनिक र ठूला आकारका तीनवटा ‘डकार–क्लास’ पनडुब्बी भित्र्याउने सम्झौतासमेत भइसकेको छ। हवाई आक्रमणका लागि भने इजरायलसँग अमेरिकी ‘एफ–३५’ स्टिल्थ लडाकु विमानहरू रहेका छन्, यद्यपि तिनलाई परमाणु हतियार बोक्ने गरी परिमार्जन गरिए वा नगरिएको बारे स्पष्ट जानकारी बाहिर आएको छैन।





