ईंग्ल्याण्डका स्टोक्ससहित बंग्लादेशका ११ जना खेलाड़ी आईपीएलको मिनी लिलामीमा सामेल

IMG-20261125-WA0063

नयाँ दिल्ली: आईपीएल २०२७-को मिनी लिलामीलाई लिएर खेलाड़ीहरूका सूची अघि आएको छ। गोवामा १६ दिसम्बरमा हुने लिलामीको निम्ति ईंग्ल्याण्डका पूर्व कप्तान बेन स्टोक्स र अष्ट्रेलियाका ब्याटर क्यामरन बेनक्रफ्टको साथमा धेरै विदेशी खेलाड़ीहरूले आफ्नो नाम पञ्जीकरण गराएका छन्। यसरी बंग्लादेशका ११ जना खेलाड़ीले पनि लिलामीमा नाम दिएका छन् तर पेस बलर मुस्ताफिजुर रहमान चाहिँ यस सूचीमा सामेल छैनन्। ईंग्ल्याण्डका पूर्व कप्तान स्टोक्स आईपीएल लिलामीको मुख्य आकर्षण हुनेछन्। उनले आफ्नो बेस प्राइस २ करोड़ रुपियाँ राखेका छन्। स्टोक्सले अन्तिमपल्ट २०२३-मा आईपीएलमा खेलेका थिए। त्यस समय उनले चेन्नई सुपर किंग्स (सीएसके)-को तर्फबाट २ वटा म्याच खेलेका थिए। स्टोक्स यसअघि राजस्थान रोयल्स र अहिले बन्द भइसकेको राइजिंग पुणे सुपरजाइण्ट्स टोलीको पनि हिस्सा रहेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि अब उनी आईपीएलको लिलामीमा आफ्नो भाग्य परीक्षा गर्न ओर्लिनेछन्। अष्ट्रेलियाका बेनक्राफ्टले पनि आईपीएल लिलामीमा पञ्जीकरण गरेका छन्। उनको बेस प्राइस ७५ लाख रुपियाँ रहेको छ। बेनक्राफ्ट २०१८-को बल टेम्परिंग विवादलाई लिएर चर्चामा रहेका थिए। हालै उनले यस मामिलामा आफ्नो भूमिकालाई लिएर सफाई दिनको साथै कप्तान प्याट कमिन्सको दाबीहरूमाथि पनि प्रतिक्रिया दिएका थिए। ३४ वर्षीय बेनक्राफ्टले अहिलेसम्म आईपीएलमा कुनै म्याच नखेले पनि अष्ट्रेलियाको बिग ब्याश लीग (बीबीएल)-मा नियमित रूपले हिस्सा लिन्छन्। अष्ट्रेलियाका पेस बलर स्कट बोलण्डले पनि लिलामीको निम्ति नाम दर्ता गरेका छन् तर टुर्नामेण्टको अधिकांश हिस्सामा उनको उपलब्धतालाई लिएर आशंका रहेको छ। आईपीएल लिलामीको निम्ति नाम पञ्जीकरण गराउने ११ जना बंग्लादेशी खेलाड़ीहरूमा हसन महमूद, परवेज हुसैन इमोन, रिपोन मण्डल, रिशाद हुसैन, सैफ हसन, शाक महेदी हसन, शमीम हुसैन, शोरिफुल इस्लाम, तञ्जिम हसन साकिब, तौहीद हृदोय र मोहम्मद रुबेल सामेल छन्। अनुभवी पेस बलर मुस्ताफिजुर रहमानको नाम पनि यस सूचीमा रहेको छैन, जसलाई गत वर्ष बीसीसीआईको निर्देशमा कलकत्ता नाइट राइडर्स (केकेआर)-ले रिलीज गरेको थियो। त्यस घटनाक्रमपछि बंग्लादेशले भारतमा म्याच खेल्न अस्वीकार गर्दै टी२० विश्व कपबाट हट्ने फसेला गरेको थियो। एसोसिएट देशका खेलाड़ीहरूमा जापानका बेञ्जामिन इतो डेविसको नाम पनि सामेल छ। उनले ३० लाख रुपियाँको बेस प्राइसमा पञ्जीकरण गरेका छन्। आईपीएल २०२७-को मिनी लिलामीको निम्ति जम्मा १२२० खेलाड़ीहरूले पञ्जीकरण गराएका छन्। यसमा ९३९ जना भारतीय र २८१ जना विदेशी खेलाड़ी सामेल छन्। यसबीच १० वटा टोलीसँग अधिकतम ६६ जना खेलाड़ी खरीद गर्ने स्थान खाली छ। यसमा विदेशी खेलाड़ीहरूका निम्ति २५ वटा स्लट निर्धारित छ। पञ्जीकरण गराउने खेलाड़ीहरूमा १८४ जना क्याप्ड (अन्तर्राष्ट्रिय स्तरमा खेल्ने), ९९४ जना अनक्याप्ड र ४२ जना एसोसिएट देशका खेलाड़ी सामेल छन्। लिलामी अघि यस सूचीमा ठूलो कटौती हुने सम्भावना छ। आईपीएलको लिलामी अघि १० वटा फ्रेञ्चाइजीले जम्मा १८४ जना खेलाड़ीलाई टोलीमा कायम (रिटेन) राखेको छ। यसरी लिलामीमा सामेल क्याप्ड भारतीय खेलाड़़ीहरूका सूचीमा १४ जनाको नाम रहेको छ। यसमा आकाश दीप, आवेश खान, दीपक चाहर, दीपक हुड्डा, जयदेव उनादकट, करुण नायर, कुलदीप सेन, मयंक अग्रवाल, उमेश यादव, उमरान मलिक, सारांश जैन, शिवम मावी, तुषार देशपाण्डे र राहुल त्रिपाठी सामेल छन्।

About Author

Advertisement