सुखबीर बादलका दुई सर्त स्वीकृत
चण्डीगढ: आगामी २०२७ मा हुने पञ्जाब विधानसभा निर्वाचनलाई लक्षित गर्दै भारतीय जनता पार्टी (भाजपा) र शिरोमणि अकाली दलबीच छ वर्षको अन्तरालपछि पुनः चुनावी गठबन्धन भएको छ। गुरुपूरबको पावन अवसरमा नयाँदिल्लीमा अकाली दलका अध्यक्ष सुखबीर सिंह बादल र केन्द्रीय गृहमन्त्री अमित शाहबीच भएको भेटवार्तामा यस महत्त्वपूर्ण चुनावी तालमेलमा अन्तिम सहमति जुटेको हो।
सन् २०२० को किसान आन्दोलनका क्रममा २५ वर्ष लामो ऐतिहासिक सहकार्य तोड्दै अलग भएको अकाली दलले करिब एक दशकपछि राज्यको सत्तामा पुनरागमन गर्ने उद्देश्यसहित पुनः राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) मा वापसी गरेको छ। यस चुनावी समझदारीअन्तर्गत भाजपाले पञ्जाबमा अकाली दलको ‘ठूलो दाजु’ को भूमिकालाई स्वीकार गर्दै बादलका दुई प्रमुख सर्तहरू मञ्जुर गरेको छ। सहमतिअनुसार सिट बाँडफाँटमा अकाली दलले बढी सिट प्राप्त गर्नेछ भने गठबन्धनले बहुमत ल्याएको खण्डमा मुख्यमन्त्रीको पदसमेत अकाली दलकै भागमा रहनेछ।
केन्द्रीय गृहमन्त्री अमित शाह एवं भाजपा अध्यक्ष नितिन नवीनले गठबन्धनका तर्फबाट अकाली दलकै नेतृत्वमा मुख्यमन्त्री बन्ने स्पष्ट पारिसक्नुभएको छ। कुल ११७ विधानसभा सिटको बाँडफाँटबारे दुवै दलका शीर्ष नेताहरू बसेर आपसी सहमतिमा टुङ्गो लगाउने गृहमन्त्री शाहले जानकारी दिनुभयो । सन् २०१७ सम्म अकाली दल ९४ र भाजपा २३ सिटमा चुनाव लड्दै आएकामा यसपटकको नयाँ समीकरणमा ग्रामीण भेगमासमेत भाजपाको सिट सङ्ख्या र उपस्थिति बढ्ने आँकलन गरिएको छ।
विगतका निर्वाचनहरूमा दुवै दल अलग-अलग गठबन्धन बनाएर मैदानमा उत्रिँदा सन् २०२२ को विधानसभा चुनावमा आम आदमी पार्टी (आप) को लहरसामु नराम्ररी पराजित हुनुपरेको थियो। उक्त निर्वाचनमा अकाली दल १८.३८ प्रतिशत र भाजपा मात्र ६.६ प्रतिशत मतमा सीमित भएका थिए। यद्यपि, सन् २०२४ को लोकसभा चुनावमा भाजपाले आफ्नो मत प्रतिशत सुधार गर्दै १८.५६ प्रतिशत पुर्याएको थियो भने अकाली दल १३.४२ प्रतिशतमा खुम्चिएको थियो।
सत्तासीन आम आदमी पार्टीले निःशुल्क बिजुली तथा ‘मुख्यमन्त्री मावाँ–धीयाँ सत्कार योजना’ जस्ता लोकप्रिय कार्यक्रमहरूमार्फत जनमत आकर्षित गरिरहेको र प्रमुख प्रतिपक्षी कांग्रेसले समेत सङ्गठनात्मक तयारी तीव्र पारिरहेको अवस्थामा पञ्जाबको आगामी चुनावी भिडन्त रोचक एवं त्रिपक्षीय बन्ने निश्चित देखिएको छ। आपले ७१ जना उम्मेदवारको घोषणा गरिसकेको र आगामी २६ नोभेम्बरमा मोगामा विशाल र्यालीमार्फत चुनावी अभियान सुरु गर्ने तयारी गरिरहेका बेला भएको यस गठबन्धनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यस गठबन्धनलाई मूर्त रूप दिन पर्दा पछाडिबाट क्याप्टेन अमरिन्दर सिंह, सुनील जाखड तथा केन्द्रीय मन्त्री सीआर पाटिलले विशेष भूमिका निर्वाह गर्नुभएको राजनीतिक स्रोतले जनाएको छ।





