मुख्यमन्त्री प्रमुख अतिथि रहने
गान्तोक: अखिल किरात राई सङ्घ, सिक्किमले आगामी ३० नोभेम्बर, २०२६ मा पश्चिम सिक्किमको देन्ताम सार्वजनिक खेलमैदानमा राज्यस्तरीय साकेवा पर्व भव्य रूपमा आयोजना गर्ने भएको छ।
सङ्घका अध्यक्ष डा. विमल राईले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा साकेवा राई समुदायको सबैभन्दा महत्त्वपूर्ण पर्वहरूमध्ये एक रहेको बताउँदै यस वर्ष पनि भव्य रूपमा पर्व मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार, यस अवसरमा दुईदिने कार्यक्रम आयोजना गरिनेछ भने मुख्य समारोह ३० नोभेम्बरमा सम्पन्न हुनेछ।
यस वर्षको राज्यस्तरीय साकेवा पर्व देन्ताम सार्वजनिक खेलमैदानमा आयोजना गरिनेछ, जसमा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुहुनेछ।
डा. राईले साकेवा पर्वलाई कृतज्ञताको पर्वका रूपमा समेत चिनिने उल्लेख गर्दै यस अवसरमा राई समुदायका परम्परागत परिकारका स्टल तथा ऐतिहासिक महत्त्वका पुरातात्त्विक सामग्रीहरू प्रदर्शन गरिने बताउनुभयो। उहाँले पर्वको मुख्य आकर्षणका रूपमा परम्परागत सिली नृत्य रहने जानकारी दिनुभयो।
यस अवसरमा मुख्यमन्त्रीको बाहुलीबाट विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने तीन जना विशिष्ट व्यक्तित्वलाई सम्मानित गरिने कार्यक्रमसमेत रहेको उहाँले जानकारी गराउनुभयो। सङ्घका अध्यक्ष राईले सिक्किमका सम्पूर्ण समुदायलाई यस सांस्कृतिक पर्वमा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गर्नुभएको छ।





