एनभिडियाको सीईओमा जेन्सेन हुआङको पुनरागमन

IMG_5c52e809-ea52-41aa-b282-6ad31cd721e9

राजीनामा दिएको ११ दिनपछि पदमा फर्किँदै

​नयाँ दिल्ली: विश्वको अग्रणी चिप उत्पादक कम्पनी एनभिडियामा नाटकीय घटनाक्रम विकसित भएको छ। कम्पनीका सह–संस्थापक जेन्सेन हुआङ राजीनामा दिएको ११ दिनपछि पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदमा फर्किनुभएको छ। उहाँले गत नोभेम्बर १२ मा पदबाट राजीनामा दिनुभएको थियो। कम्पनीको सञ्चालक समितिले सर्वसम्मतिबाट उहाँलाई पुनः अध्यक्ष, सीईओ तथा सञ्चालकमा नियुक्त गरेको हो र यो निर्णय तत्काल लागू भएको छ।
​सञ्चालक समितिका अनुसार जेन्सेन हुआङसँग पटक–पटक भएको छलफलपछि उहाँको नेतृत्व क्षमता र स्पष्ट जवाफप्रति समिति विश्वस्त भएको छ। साथै, अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूबाट प्राप्त जानकारीले उहाँको पुनरागमनबाट राष्ट्रिय सुरक्षामा कुनै जोखिम नरहेको स्पष्ट पारेको समितिले जनाएको छ। यो निर्णय आएलगत्तै अमेरिकी सेयर बजारमा एनभिडियाको सेयरमा तीव्र उछाल देखिएको र प्रि–मार्केट कारोबारमा सेयर २५ प्रतिशतभन्दा बढीले बढेको बताइएको छ।
​पछिल्लो एक सातामा सञ्चालक समितिको अडानमा ठुलो परिवर्तन देखिएको छ। गत मङ्गलबार त्रैमासिक नतिजासम्बन्धी बैठकमा समितिका अध्यक्ष हार्भे सी जोन्सले हुआङलाई फिर्ता ल्याउने कुनै योजना नरहेको र नयाँ सीईओ खोज्न परामर्शदाता फर्म नियुक्त गरिएको बताउनुभएको थियो। यद्यपि, सामाजिक सञ्जाल ‘एक्स’ मा हुआङले बोर्डको चाहना भए कम्पनी र देशको हितमा फर्किन तयार रहेको धारणा राख्नुभएको थियो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रविधि व्यवसायी एलन मस्कले पनि सार्वजनिक रूपमा उहाँको पुनरागमनको समर्थन गर्नुभएको थियो।
​सीईओ पदमा फर्किए पनि विदेशी गुप्तचर गतिविधिमा संलग्न रहेको भन्ने आरोपसम्बन्धी अनुसन्धान भने जारी रहनेछ। बाह्य कानुनी सल्लाहकारसहितको स्वतन्त्र सञ्चालकहरूको समितिले गरिरहेको छानबिन पूरा नभएसम्म जारी रहने र त्यसमा पूर्ण सहयोग गर्ने हुआङले प्रतिबद्धता जनाउनुभएको छ। हुआङ र कम्पनीका जनरल काउन्सिल टिम टेटरले आगामी डिसेम्बर १ र २ मा अमेरिकी संसद्को हाउस कमिटीसमक्ष बन्द कोठामा उपस्थित भई प्रश्नहरूको जवाफ दिनुपर्नेछ।
​आफ्नो ३३ वर्षे कार्यकालमा आएको विश्रामपछि पदमा फर्किएसँगै हुआङले एनभिडियामा पुनः नेतृत्व सम्हाल्न पाउँदा सम्मानित र उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ। यसअघि चिनियाँ गुप्तचर एजेन्सीसँग जोडिएको भनिएका एक महिलासँग नाम मुछिएपछि उत्पन्न विवादका बिच उहाँले राजीनामा दिनुभएको थियो, यद्यपि चीनले ती आरोप अस्वीकार गर्दै आएको छ। उहाँको बहिर्गमनपछि कम्पनीकी सीएफओ कोलेट क्रेसलाई कार्यवाहक सीईओको जिम्मेवारी दिइएको थियो।

About Author

Advertisement