सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न जिल्लापालको निर्देशन
पाकिम: पाकिम जिल्लाकी जिल्लापाल परी विष्णोईको नेतृत्वमा रहेको जिल्लास्तरीय निगरानी समितिले आज रङ्गेलीस्थित जीआई हाइड्रो प्राइभेट लिमिटेडको जलविद्युत् परियोजनाको द्वैमासिक निरीक्षण गरेको छ। परियोजनामा विद्यमान सुरक्षा व्यवस्थाको प्रभावकारिता मूल्याङ्कन गर्ने, सम्भावित जोखिम पहिचान गर्ने तथा जनसुरक्षा सुनिश्चित गर्न अपनाइएका रोकथामका उपायहरूको समीक्षा गर्ने उद्देश्यले उक्त निरीक्षण गरिएको हो।
निरीक्षणका क्रममा जिल्लापाल विष्णोईले परियोजनामा जडित उपकरणहरूको कार्यक्षमता र सञ्चालन प्रक्रियाबारे जानकारी लिँदै निर्धारित सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न निर्देशन दिनुभयो। कुनै पनि अप्रिय घटना हुन नदिन सम्बन्धित अधिकारीहरूलाई आवश्यक सुरक्षा उपायहरू गम्भीरता र जिम्मेवारीपूर्वक कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो।
निरीक्षण टोलीले सर्वप्रथम विद्युतगृह तथा स्विचयार्डको अवलोकन गरी अघिल्लो निरीक्षणका क्रममा दिइएका सुझाव र सिफारिसहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरेको थियो। त्यसपछि टोलीले बाँधस्थल पुगेर समग्र सुरक्षा प्रबन्ध, उपलब्ध सुविधा तथा नियन्त्रण कक्षमा अपनाइएका सुरक्षात्मक उपायहरूको मूल्याङ्कन गर्यो।

साथै, अग्नि सुरक्षा प्रणाली, आपतकालीन अवस्था तथा उद्धार कार्यका लागि गरिएको तयारी र कार्यविधिबारे समेत टोलीले विस्तृत समीक्षा गरेको छ। पानीको सतह बढेर बाँध भरिने (ओभरफ्लो) अवस्थामा बज्ने साइरन प्रणालीको कार्यक्षमता तथा विपद्सम्बन्धी सूचना सर्वसाधारणसम्म समयमै पुर्याउने संयन्त्रबारे पनि छलफल गरिएको थियो।
सो अवसरमा जीआई हाइड्रो प्राइभेट लिमिटेडका प्रतिनिधिहरूले परियोजनाका प्राविधिक पक्ष तथा सञ्चालन प्रभावकारिताका लागि प्रयोग भइरहेका आधुनिक प्रविधिबारे टोलीलाई अवगत गराएका थिए। आसपासका ग्राम पञ्चायत एकाई (जीपीयू) का बासिन्दाहरूलाई साइरन प्रणाली, आपतकालीन पूर्वतयारी तथा अन्य सुरक्षा उपायबारे नियमित सचेतना कार्यक्रम सञ्चालन भइरहेको जानकारीसमेत कम्पनीका तर्फबाट दिइएको थियो।





