पश्चिम बंगालको नाम ‘पश्चिमबंग’ राख्ने मन्त्रिपरिषद्को निर्णय

FB_IMG_1795449882446

९ दिसम्बरमा विधानसभामा प्रस्ताव

​कोलकाता: पश्चिम बंगाल मन्त्रिपरिषद्ले सबै भाषामा राज्यको नाम परिवर्तन गरी ‘पश्चिमबंग’ राख्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले उक्त निर्णय सार्वजनिक गरेका हुन्।
​आगामी ४ दिसम्बरदेखि पश्चिम बंगाल विधानसभाको अधिवेशन शुरु हुँदैछ। यसै अधिवेशनअन्तर्गत ९ दिसम्बरमा राज्यको नाम परिवर्तनसम्बन्धी औपचारिक प्रस्ताव प्रस्तुत गरिनेछ। विधानसभाबाट प्रस्ताव पारित भएपछि त्यसलाई भारत सरकारसमक्ष पठाइनेछ। त्यसपछि केन्द्र सरकार र संसद्ले संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम अघि बढाउनेछन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री अधिकारीले ९ दिसम्बरमा विधानसभामा प्रस्ताव ल्याइने र पारित भएपछि भारत सरकारलाई पठाइने बताए। उनले अब अंग्रेजीसहित सबै भाषामा राज्यको नाम ‘पश्चिमबंग’ नै रहने उल्लेख गरे। राज्य गठनको इतिहास स्मरण गर्दै उनले २० जून, १९४७ मा पश्चिमबंग गठन भएको गौरवशाली इतिहास रहेको बताए। उनले ‘वेस्ट बंगाल’ को सट्टा सबै ठाउँमा ‘पश्चिमबंग’ नाम प्रयोग गरिनुपर्ने धारणा व्यक्त गरे।
​उल्लेखनीय छ, अक्टोबर महिनाको शुरुआतमै भाजपाका प्रदेश अध्यक्ष एवं राज्यसभा सांसद शमिक भट्टाचार्यले सबै भाषामा राज्यको नाम ‘पश्चिमबंग’ राख्नुपर्ने माग अघि सारेका थिए। उनले आगामी विधानसभा अधिवेशनमा यससम्बन्धी नयाँ प्रस्ताव ल्याउने सङ्केतसमेत दिएका थिए। सोमबार मन्त्रिपरिषद्को स्वीकृतिसँगै मुख्यमन्त्रीले उक्त मागलाई औपचारिकता दिएका छन्।
​राज्यको नाम परिवर्तन गर्ने विषय लामो समयदेखि चर्चामा रहँदै आएको छ। यसअघि पूर्वमुख्यमन्त्री ममता ब्यानर्जी नेतृत्वको सरकारले राज्यको नाम परिवर्तन गरी ‘बाङ्ला’ राख्ने प्रस्ताव विधानसभाबाट सर्वसम्मतिले पारित गरेको थियो। तर, उक्त प्रस्तावलाई केन्द्रिय गृह मन्त्रालयबाट स्वीकृति प्राप्त हुन सकेको थिएन।
​वर्तमान भाजपा सरकारको तर्कअनुसार अंग्रेजीमा राज्यको नाम ‘डब्ल्यू’ अक्षरबाट शुरु हुने भएकाले सरकारी तथा आधिकारिक सूचीहरूमा पश्चिम बंगालको नाम प्रायः अन्तिमतिर पर्ने गरेको थियो। यसले प्रशासनिक स्तरमा असुविधा हुने गरेको सरकारको भनाइ छ। नामको शुरुआत ‘पी’ अक्षरबाट हुने भएपछि आधिकारिक सूचीमा राज्यले तुलनात्मक रूपमा माथिल्लो स्थान प्राप्त गर्न सक्ने सत्तारूढ दलको दाबी छ।
​यस निर्णयलाई लिएर तृणमूल कांग्रेसका नेता कुणाल घोषले भने सरकारको आलोचना गरेका छन्। उनले केन्द्रिय कार्यक्रमहरूमा ‘वेस्ट बंगाल’ नामका कारण घण्टौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था आउने गरेको र यही कारण ममता ब्यानर्जी नेतृत्वको सरकारले राज्यको नाम ‘बाङ्ला’ राख्ने प्रस्ताव अघि सारेको बताएका छन्।
​घोषले सरकारले ‘बाङ्ला’ नाम अस्वीकार गरेर ‘पश्चिमबंग’ राख्ने निर्णय गरेको भन्दै आलोचना गरे। उनका अनुसार, ‘बाङ्ला’ नाम राखिएको भए प्रशासनिक कामकाजमा राज्यलाई अझ बढी सुविधा हुने थियो। यद्यपि, उनले ‘पश्चिमबंग’ नामप्रति आफ्नो व्यक्तिगत आपत्ति नरहेको पनि स्पष्ट पारे।
​उल्लेखनीय छ, कुनै पनि राज्यको नाम परिवर्तन गर्न निश्चित संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। सर्वप्रथम नाम परिवर्तनसम्बन्धी प्रस्ताव वा विधेयक राज्य विधानसभाबाट पारित गरी केन्द्रिय गृह मन्त्रालयमा पठाइन्छ। त्यसपछि उक्त विषय राष्ट्रपतिसमक्ष पुग्छ। राष्ट्रपतिले आवश्यक विचारविमर्श गरी कुनै विषयमा थप स्पष्टीकरण वा जानकारी आवश्यक ठानेमा सम्बन्धित राज्य विधानसभासँग माग गर्न सक्नेछन्।
​राष्ट्रपति सन्तुष्ट भएपछि विधेयक संसद्मा पठाइन्छ। लोकसभा र राज्यसभा दुवै सदनबाट पारित भएपछि विधेयक अन्तिम स्वीकृतिका लागि पुनः राष्ट्रपतिसमक्ष पुग्छ। राष्ट्रपतिबाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्र राज्यको नाम आधिकारिक रूपमा परिवर्तन हुन्छ।

About Author

Advertisement