गान्तोक। एसियन एनिमे एन्ड मङ्गा एकेडेमी (आमा/एएएमए) लाई २१ नोभेम्बर २०२६ मा कोलकातामा आयोजित भारतका प्रतिष्ठित कमिक्स महोत्सवहरूमध्येको एक ‘इन्डी कमिक्स फेस्ट २०२६’ मा सहभागी हुन आमन्त्रण गरिएको थियो।
स्थानीय भारतीय कमिक्स पुस्तकहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले सुरु गरिएको यो देशव्यापी अभियान हो। यसले भारतीय कमिक्स पुस्तक तथा कलाकारहरूको प्रवर्द्धनका लागि कलाकार, प्रकाशक, वितरक र लगानीकर्ताहरूलाई एउटै मञ्चमा भेला गराउँछ। उक्त महोत्सवमा ‘आमा’ लाई प्रदर्शक तथा प्यानल सदस्यका रूपमा आमन्त्रण गरिएको थियो।
महोत्सवबारे अनुभव साझा गर्दै ‘आमा’ का सह-संस्थापक दिवाकर बस्नेतले इन्डी कमिक्स फेस्ट कमिक्स सिर्जनाकर्ताहरूका लागि सबैभन्दा ठुला अवसरहरूमध्ये एक रहेको बताए। यसले कमिक्स क्षेत्रसँग जोडिएका सबैलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्ने उनको भनाइ छ।
उनले भने, “सिक्किमको प्रतिनिधित्व गर्दै आफ्ना कथाहरू बृहत् दर्शकमाझ पुर्याउने सम्मान प्रदान गरेकोमा हामी आईसीएफ कोलकाताप्रति आभारी छौँ। हामीले कार्यक्रममा लिएर गएका दुवै सिर्जनालाई दर्शकहरूले निकै मन पराएको र महोत्सवका क्रममा ती सबै बिक्री भएकोमा हामी खुसी छौँ।”

महोत्सवका क्रममा दिवाकर बस्नेतले ‘भारतीय कमिक्स र यसको भविष्य’ शीर्षकको छलफल सत्रमा प्यानल सदस्यका रूपमा पनि सहभागिता जनाएका थिए। आगामी दिनमा सिक्किमलाई मङ्गा तथा एनिमे सिर्जनाको गन्तव्य बनाउने लक्ष्यसहित ‘आमा’ क्रियाशील रहेको छ। यस्ता महोत्सवहरूले सिक्किमका सिर्जनात्मक प्रतिभाहरूलाई बाहिरी विश्वसामु चिनाउने अवसर प्रदान गर्ने संस्थाले जनाएको छ।





