सिलगढी: डाबग्राम–फूलबाडीकी विधायक शिखा च्याटर्जीले फूलबाडी क्षेत्रमा सडक तथा नाली निर्माण कार्यको शिलान्यास गरेकी छन्। भाजपा विधायक च्याटर्जीले आइतबार फूलबाडी प्रथम ग्राम पञ्चायतअन्तर्गत भालोबासा मोडमा नरिवल फुटाएर कङ्क्रिटको सडक र नाली निर्माण कार्यको औपचारिक शुभारम्भ गरेकी हुन्।
सिलगढी–जलपाईगुडी विकास प्राधिकरण (एसजेडीए) को पहलमा करिब १९ लाख रुपियाँको लागतमा उक्त परियोजना सम्पन्न हुने विधायक च्याटर्जीले जानकारी दिइन्। शिलान्यास कार्यक्रममा फूलबाडी प्रथम ग्राम पञ्चायतका प्रधान दयाल राय, राहुल बर्मन, मानुनी दास, उत्तम सरकारलगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सोही दिन फूलबाडी–२ ग्राम पञ्चायतको पूर्व धनतला गाउँमा समेत सडक निर्माण कार्यको शिलान्यास गरिएको छ। ‘जी राम जी’ परियोजनाअन्तर्गत १२५ दिने रोजगारी कार्यक्रममार्फत पेभर ब्लक बिछ्याएर उक्त सडक निर्माण गरिने जनाइएको छ। एकै दिन फूलबाडीका दुई फरक स्थानमा पूर्वाधार निर्माणका काम सुरु भएपछि स्थानीय बासिन्दाहरू उत्साहित बनेका छन्।





