गान्तोक: सिक्किम धनुर्विद्या सङ्घको आयोजनामा आज (२२ नोभेम्बर) देखि गान्तोकस्थित खेल गाउँ, रेशीथाङमा आठ दिवसीय ‘राष्ट्रिय वरीयता धनुर्विद्या प्रतियोगिता’ सुरु भएको छ। आगामी ३० नोभेम्बरसम्म सञ्चालन हुने उक्त राष्ट्रिय स्तरको प्रतियोगिताको सिक्किम विधानसभाका अध्यक्ष एम.एन. शेर्पाले प्रमुख अतिथिका रूपमा उद्घाटन गरेका छन्।

समारोहमा धार्मिक, जनस्वास्थ्य अभियान्त्रिकी तथा जलस्रोत विभागका मन्त्री एवं सिक्किम धनुर्विद्या सङ्घका अध्यक्ष सोनाम लामा, एसटीसीएसका प्रबन्ध निर्देशक लोब्जाङ भुटिया, मुख्य सचिवका संयुक्त सचिव तथा स्टाफ अफिसर सन्नी खरेल, ऊर्जा विभागका सीएओ कुन्जाङ शेर्पा, सरकारी ठेकेदारद्वय विकास गोले र छेवाङ जिग्मी लेप्चाको विशेष उपस्थिति रहेको थियो। यसैगरी विश्व च्याम्पियन धनुर्धर धीरज, एसियाली स्वर्ण पदक विजेता साहिल जाधव, सिक्किम धनुर्विद्या सङ्घ तथा भारतीय धनुर्विद्या सङ्घका सदस्यहरू, सहभागी खेलाडी एवं अन्य सरोकारवालाहरूको पनि समारोहमा सहभागिता रहेको थियो।

सिनियर, जुनियर र सब-जुनियर गरी तीन वर्गमा विभाजित यस प्रतियोगिताका प्रत्येक वर्गमा रिकर्भ पुरुष, रिकर्भ महिला, कम्पाउन्ड पुरुष र कम्पाउन्ड महिला विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको पहिलो दिन आज सम्बन्धित विधाका शीर्ष १६ धनुर्धरहरू सहभागी सिनियर वर्गको छनोट चरण (क्वालिफिकेसन राउन्ड) सम्पन्न भएको छ भने भोलिदेखि नकआउट (एलिमिनेसन) चरणका खेलहरू सुरु हुनेछन्।





