राज्यमन्त्री आनन्दमय बर्मनले गरे उद्घाटन
सिलगढी: उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) ले धार्मिक गन्तव्य नादियाको मायापुरस्थित इस्कन मन्दिरसम्म पुग्नका लागि सिलगढीबाट सिधा बस सेवा सुरु गरेको छ। यससँगै अब उत्तर बङ्गालका बासिन्दाले सिलगढीबाट सिधै मायापुरसम्मको यात्रा गर्न सक्ने भएका छन्।

भक्तजनहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै आइतबार सिलगढीस्थित इस्कन मन्दिरअगाडि वित्त तथा परिवहन राज्यमन्त्री आनन्दमय बर्मनले औपचारिक रूपमा उक्त बस सेवाको झन्डा देखाएर शुभारम्भ गर्नुभयो।
प्राप्त जानकारीअनुसार अहिलेसम्म सिलगढीबाट मायापुर जोड्ने कुनै सिधा सरकारी बस सेवा उपलब्ध थिएन। नयाँ बस सेवा सञ्चालनमा आएपछि विशेष गरी इस्कन मन्दिर दर्शनका लागि बारम्बार मायापुर जाने भक्तजनहरूको यात्रा थप सहज र सुविधाजनक हुने अपेक्षा गरिएको छ।
सिलगढी–मायापुर सेवाका साथै एनबीएसटीसीले बालुरघाट र मायापुरबिच पनि नियमित बस सेवा सञ्चालन गर्नेछ।
उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री आनन्दमय बर्मनले सिलगढीदेखि मायापुरसम्म सिधा बस सेवाको माग लामो समयदेखि महसुस हुँदै आएको बताउनुभयो। इस्कन मन्दिर दर्शनका लागि मायापुर जाने भक्तजनहरूको सुविधालाई ध्यानमा राखेर यो पहल गरिएको उहाँले स्पष्ट पार्नुभयो।





