‘सिक्किम अर्गानिक फुड समिट’मा स्थानीय उत्पादन र परिकारको आकर्षण

FB_IMG_1795106164104

​गेजिङ: सिक्किम सरकारको खाद्य प्रशोधन उद्योग विभागद्वारा आयोजित तीनदिने ‘सिक्किम अर्गानिक फुड समिट २०२६’ अन्तर्गत बिहीबार दोस्रो दिन स्थानीय जैविक उत्पादन तथा परिकारको प्रदर्शनी र बिक्री भइरहेको छ।
​गेजिङस्थित सामुदायिक भवन परिसरमा जारी सम्मेलनमा विभिन्न सरकारी निकाय, स्थानीय उद्यमी, कृषक, स्वयं सहायता समूह तथा सार्वजनिक उपक्रमका गरी २५ वटा प्रदर्शनी स्टल राखिएका छन्। स्टलहरूमा अर्गानिक कृषि तथा बागवानी उपजका साथै स्थानीय स्तरमा उत्पादित विभिन्न खाद्य परिकार प्रदर्शन गरिएको छ।
​प्रदर्शनीमा नाम्चीस्थित ‘सिक्किम प्रगतिशील नारी सहकारी संस्था’ ले परम्परागत खाद्यान्न प्रवर्द्धन गर्ने उद्देश्यले कोदो, फापर र मकैको पिठो राखेको छ। त्यस्तै, उत्तरेस्थित ‘याम ट्राउट फार्म’ ले स्थानीय जलकृषिको सम्भावना देखाउँदै इन्द्रेणी ट्राउट माछाबाट बनेका मःम, फ्राइड ट्राउट र ट्राउट चिलीलगायतका परिकार पस्केको छ।
​बिहीबार गेजिङका अतिरिक्त जिल्लापाल (एडीसी) तृप्ति हाङ्मा सुब्बा, एडीसी सुरेश राई, खाद्य प्रशोधन उद्योग विभागकी सचिव ज्योत्स्ना एम. कार्थक र संयुक्त सचिव नविता प्रधानलगायतको टोलीले स्टलहरूको अवलोकन गर्दै उद्यमी तथा कृषकहरूसँग अन्तरक्रिया गरेको थियो।
​स्थानीय जैविक उत्पादनको मूल्य अभिवृद्धि, उद्यमशीलता विकास, प्याकेजिङ तथा ब्रान्डिङ सुधार र लगानी प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित उक्त सम्मेलन शुक्रबार समापन हुनेछ।

About Author

Advertisement