भारत–नेपाल हवाई सम्पर्क र क्षेत्रीय पर्यटनमा नयाँ अध्याय
झापा/सिलगढी(नेत्र बिक्रम बिमली): पश्चिम बंगालको प्रमुख प्रवेशद्वार मानिने बागडोगरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरूको सहज सञ्चालनका लागि भारतले नेपालको पूर्वी आकाश (एयरस्पेस) प्रयोग गर्ने प्रस्ताव अघि सारेको छ। भारतको यस प्रस्तावमाथि नेपालको नागरिक उड्डयन निकायले सकारात्मक रूपमा प्राविधिक अध्ययन सुरु गरेसँगै दुई छिमेकी राष्ट्रबीचको हवाई सम्पर्क र पारस्परिक उड्डयन सहकार्यमा नयाँ सम्भावनाको ढोका खुलेको छ।
भौगोलिक निकटताका कारण बागडोगरा विमानस्थलमा ठूला तथा अन्तर्राष्ट्रिय स्तरका विमानहरू अवतरण र उडान गर्दा नेपालको पूर्वी हवाई मार्ग प्रयोग गर्न पाए उडान दूरी उल्लेख्य रूपमा छोटिनेछ। यसबाट इन्धनको बचत हुनुका साथै वायुसेवा कम्पनीहरूको सञ्चालन लागत घट्ने र यात्रुहरूलाई समेत छिटो तथा किफायती सेवा उपलब्ध हुने उड्डयन विज्ञहरूको विश्लेषण छ।
यस पहलले सिलिगुडी लगायत दार्जिलिङ, कालिम्पोङ, डुवर्स र छिमेकी राज्य सिक्किमको पर्यटन तथा व्यापार क्षेत्रमा प्रत्यक्ष ऊर्जा थप्ने अपेक्षा गरिएको छ। हाल तेस्रो मुलुकबाट आउने विदेशी पर्यटकहरूले कोलकाता वा दिल्ली हुँदै लामो यात्रा तय गरेर बागडोगरा आउनुपर्ने बाध्यता छ। सिधा अन्तर्राष्ट्रिय उडान विस्तार भएमा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुनुका साथै दार्जिलिङको चिया, कालिम्पोङको अलैँची र सिक्किमका अर्ग्यानिक कृषि उपजहरूलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसमेत सहज हुनेछ।
अर्कोतर्फ, भारतको यस प्रस्तावसँगै नेपालले लामो समयदेखि माग गर्दै आएका पश्चिमतर्फका महेन्द्रनगर र नेपालगन्ज हवाई प्रवेश बिन्दु खुलाउने विषयमा पनि द्विपक्षीय संवाद अघि बढ्ने विश्वास लिइएको छ। यसबाट नेपालका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनमा सहयोग पुग्नुका साथै दुवै देशको उड्डयन तथा पर्यटन क्षेत्रमा पारस्परिक लाभ मिल्ने सरोकारवालाहरूको भनाइ छ।





