एनआईटी सिक्किमको नवौँ दीक्षान्त समारोह शनिबार, १९६ विद्यार्थी दीक्षित हुने

IMG_f7cae3de-d3be-46a5-9a97-e08446821cb0

​गान्तोक: नेशनल इन्स्टिट्युट अफ टेक्नोलोजी (एनआईटी) सिक्किमको नवौँ दीक्षान्त समारोह आगामी शनिबार (मंसिर ६) राभाङ्लास्थित तथागत स्थल (बुद्ध पार्क) मा आयोजना हुने भएको छ।
​प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) ले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार समारोहमा सन् २०२६ को शैक्षिक सत्र पूरा गरेका १९६ विद्यार्थीलाई विभिन्न तहको उपाधि प्रदान गरिनेछ।
​दीक्षित हुने विद्यार्थीहरूमध्ये १४५ जना बीटेक, १८ जना पीएचडी शोधार्थी, १८ जना एमटेक, १४ जना एमएससी र एक जना स्नातकोत्तर डिप्लोमा तहका छन्। साथै, उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विभिन्न विधाका ९ जना विद्यार्थीलाई स्वर्ण पदकबाट सम्मान गरिने संस्थाले जनाएको छ।
​सिक्किमका शिक्षामन्त्री राजु बस्नेतको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्। एनआईटी सिक्किमको बोर्ड अफ गभर्नर्सका अध्यक्ष रमेश कुमार सरावगीको अध्यक्षतामा हुने कार्यक्रममा संस्थाका निर्देशक प्रा. महेश चन्द्र गोभिलले गत वर्षका शैक्षिक तथा अनुसन्धानका उपलब्धि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
​भारत सरकारको शिक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महत्त्वको संस्थाका रूपमा सन् २०१० मा स्थापित एनआईटी सिक्किमले गुणस्तरीय प्राविधिक शिक्षा र अनुसन्धानका माध्यमबाट राष्ट्र निर्माणमा योगदान पुऱ्याउँदै आएको छ।

About Author

Advertisement