पद्मश्री सानु लामा स्मृति दिवस भव्यताका साथ सम्पन्नस्वर्गीय लामाका तीन कृति लोकार्पण

n7342230831795023138208d92443e1242839a8f63d6e1b77eb47b6a7bd3922e77bb3de3ac9e3451c22e811

विद्यार्थी रूवाहाङ राईलाई ‘सानु लामा छात्र पुरस्कार’

​गान्तोक: सिक्किमेली नेपाली साहित्यका शिखर पुरुष, पद्मश्री पुरस्कारबाट विभूषित स्वर्गीय साहित्यकार सानु लामाको स्मृतिमा बुधवार राजधानी गान्तोकमा ‘सानु लामा स्मृति दिवस’ भव्यताका साथ पालन गरियो। सानु लामाको परिवारद्वारा सिक्किम अकादेमीको सहयोगमा आयोजित उक्त गरिमामय समारोहमा स्वर्गीय लामाद्वारा लिखित उपन्यास ‘रूपसाङ नाम्सा’, संस्मरण ‘आँगन परतिर’ तथा उनको जीवन र योगदानमा आधारित ‘स्मृति ग्रन्थ’ को सामूहिक रूपमा लोकार्पण गरियो।
​सिक्किम सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जीटी ढुङ्गेलको मुख्य आतिथ्यमा सम्पन्न समारोहमा नेपाली भाषा-साहित्यका स्रष्टा, साहित्यप्रेमी तथा प्रशासनिक एवं सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सर टासी नामग्याल सिनियर सेकेन्डरी स्कूलमा नवौँ श्रेणीको नेपाली विषयमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी रूवाहाङ राईलाई नगद २५ हजार रुपियाँ र प्रशस्तिपत्रसहित ‘सानु लामा छात्र पुरस्कार’ प्रदान गरी सम्मानित गरियो।
​समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री जीटी ढुङ्गेलले सानु लामासँगको सहकार्य र उनको नेतृत्वमा अभियन्ताका रूपमा काम गर्दाका अविस्मरणीय क्षणहरू स्मरण गरे। सानु लामासँग काम गर्ने अवसर पाउनुलाई आफ्नो सौभाग्य बताउँदै मन्त्री ढुङ्गेलले अभियन्ता र साहित्यकार जस्ता दुई फरक कार्यक्षेत्रमा लामाको विशिष्ट पहिचान स्थापित रहेको उल्लेख गरे। “लामाद्वारा रचित कालजयी गीत ‘जहाँ बग्छ टिस्टा रङ्गीत’ सिक्किमको सांस्कृतिक पहिचानका रूपमा युगौँसम्म जीवन्त रहनेछ,” मन्त्री ढुङ्गेलले भने, “उनका साहित्यिक तथा सामाजिक योगदानबाट आजको नयाँ पुस्ताले प्रेरणा लिनु आवश्यक छ।”
​स्मृति ग्रन्थका सम्पादक पूर्ण योञ्जनले लामाको साहित्यिक यात्रा, पारिवारिक पृष्ठभूमि र सामाजिक योगदानमाथि प्रकाश पार्दै उनको जीवनकालमा प्रकाशित हुन नसकेको उपन्यास ‘रूपसाङ नाम्सा’ परिवारको पहलमा पाठकमाझ आउनु उनको अन्तिम साहित्यिक इच्छाप्रतिको सच्चा सम्मान भएको बताए।
​यसअघि स्वर्गीय लामाकी जेठी छोरी डा. अनुशा लामाले स्वागत मन्तव्य राख्दै स्मृति दिवसले पिताको साहित्यिक योगदानको स्मरणसँगै अन्तिम कृति सार्वजनिक गर्ने अवसर जुराएको बताइन्। पिताले अध्ययन गरेको विद्यालयका मेधावी विद्यार्थीलाई छात्र पुरस्कार प्रदान गर्ने परम्परा थालनी गरिएको जानकारी दिँदै यसले नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्ने उनले विश्वास व्यक्त गरिन्।
​समारोहमा गायक दावा लामा र राज्य संस्कृति विभागका कलाकारहरूले सानु लामाको लोकप्रिय गीत ‘जहाँ बग्छ टिस्टा रङ्गीत’ प्रस्तुत गरी वातावरणलाई भावुक र सङ्गीतमय बनाएका थिए भने गायिका सुश्मा दाहालले लामाद्वारा रचित नयाँ गीतमार्फत साङ्गीतिक श्रद्धाञ्जली अर्पण गरिन्।
​उक्त अवसरमा पूर्व मुख्य सचिव पीके प्रधान, पूर्व मन्त्री बिरबल तामलिङ, पूर्व विधानसभा अध्यक्ष कलावती सुब्बा, पूर्व विधायक बीएम रामुदामु, डीबी ठटाल, पूर्व सचिव नलिनी गुप्ता, गान्तोक नगर निगमकी उप-मेयर सहारा लामा, शिक्षाविद् रूद्र पौड्याल, व्याकरणविद् केएन शर्मा, नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, सिक्किम अकादेमीका अध्यक्ष प्रवीण राई जुमेली, परि प्रकाशनका अध्यक्ष सीपी शर्मा, अनेसासकी अध्यक्ष रत्न लक्सम, डा. शोभाकान्ति थेगिम ट्रस्टका अध्यक्ष डूप छिरिङ लेप्चा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

About Author

Advertisement