प्रेस क्लब अफ् खरसाङद्वारा राष्ट्रिय प्रेस दिवस पालन

376e5f8b-7773-4998-bbf6-b69b37e5fcfd

पत्रकारिता पेशा नै प्रश्न गर्ने पेशा हो- वरिष्ठ पत्रकार केशव प्रधान

खरसाङ: प्रेस क्लब अफ् खरसाङको आयोजनामा सोमवार खरसाङमा राष्ट्रिय प्रेस दिवस पालन गरिएको छ। खरसाङजो गोर्खा जनपुस्तकालयस्थित डा पारसमणि प्रधान प्रेक्षाग‌ृहमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रेस क्लब अफ् खरसाङका सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमले गरेका थिए भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा काम गरिसकेका वरिष्ठ पत्रकार केशव प्रधान उपस्थित रहेका थिए। अतिथिको रुपमा पूर्व उप सभापति एवं व्यवसायी राजेन्द्र तामाङ उपस्थित रहेका थिए। सचिव हनोक थापाले सञ्चालन एवं स्वागत सम्भाषण राखेको कार्यक्रमको शुरुमा प्रेस क्लब अफ् खरसाङमा नयाँ जोइन्ट भएका सदस्य सदस्याहरुलाई सभाध्यक्ष र प्रमुख अतिथिको बाहुलीबाट खदार्पणसहित स्वागत जनाइएको छ। कार्यक्रममा प्रेस क्लब अफ् खरसाङका उप सभापति एवं संयोजक निर्मल गुरुङ, सह सचिव सुवास छेत्री भावुक, सल्लाहकारद्वय कयस अन्सारी र वरिष्ठ पत्रकार सञ्जय प्रधान आदिले वक्तव्य राखेका थिए। वक्ताहरुले राष्ट्रिय प्रेस दिवस, पत्रकारिता र प्रेस क्लब अफ् खरसाङको विषयमा चर्चा परिचर्चा गर्दै वक्तव्य राखेका थिए। उनीहरुले प्रेस क्लब खरसाङलाई कसरी अघि लिएर जान सकिन्छ भन्ने विषयमा साथै वर्तमान समयमा गरिने पत्रकारिता र प्रेस क्लब अफ् खरसाङको विषयमा विस्तृत जानकारी गराएका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ पत्रकार केशव प्रधानले पत्रकारिता र पत्रकारहरुको भूमिका साथै सरकारबाट पाउने सहुलियतहरु साथै अन्य विभिन्न विषयहरुमा आफ्नो सम्बोधनमा जानकारी गराएका थिए। उनले पत्रकारहरुले जिज्ञासामूलक प्रश्नहरुको पनि उत्तर दिएका थिए‌। यसावधि उनले पत्रकारहरुको भूमिका र पत्रकारिता विषयमा पत्रकारहरुसित विमर्श पनि गरेका थिए।

उनले आफ्नो सम्बोधनमा पत्रकारिता पेशा गौरवशाली पेशा रहेको बताउँदै यो पेशा प्रश्न गर्ने पेशा रहेको र प्रश्न जसले पायो उसले गर्न सक्दैन तर हिम्मतवालाले मात्र प्रश्न गर्न सक्छ भनी बताएका छन्। उनले जुन मान्छेले प्रश्न गर्न सक्छ उसले उक्त विषयमा धेरै बुझेको हुन्छ र नबुझी प्रश्न गर्न सक्दैन भनी बताए।‌ वरिष्ठ पत्रकार केशव प्रधानले भने, ‘पत्रकारिता गजबको पेशा हो।‌ हामीले हाम्रो पेशामा गर्व गर्न सक्नुपर्छ। तर हामीले कहिले पनि सही सूचना सम्प्रेषण गर्नुपर्छ। पत्रकारहरु देशको चौथो स्तम्भ हुन्। किनभने देशमा नियम बनाउने व्यवस्थापिका हुन्छ, नियमलाई कार्यन्वयन गर्ने कार्यपालिका र नियम कार्यान्वयन भए नभएको हेर्ने न्यायपालिका छ अनि पत्रकारहरु देशको चौथो स्तम्भ हुन्। हामी पत्रकारहरुले मानिसहरुलाई सही बाटोमा डोराउनु सक्नुपर्छ।’
वरिष्ठ पत्रकार केशव प्रधानले अघि भने, पहिलाको समयमा पत्रकारिताको क्षेत्रमा खरसाङले दार्जिलिङ, कालेबुङ, सिलगढी, मिरिक, खरसाङ सबैलाई अगुवाई गर्थे। अब खरसाङका पत्रकारहरुले खरसाङलाई राम्रोसित चिनाउनुपर्छ। खरसाङको गरिमालाई बचाई राख्नुपर्छ। खरसाङको महिमा गरिरहनुपर्छ। किनभने खरसाङ एकदमै राम्रो स्थान हो।’
उनले अझ भने, ‘पत्रकारहरुले सरकारको अनुदानमा मात्रै पत्रकारिता गर्नु हुँदैन। नेताहरुको प्रभावमा आएर मात्र लेख्नु हुँदैन। तर आफुले देखेर सही निर्क्यौल गरेर मात्र सही कुरा लेख्नु सक्नुपर्छ।’
कार्यक्रममा सभाध्यक्ष वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमले कार्यक्रम सफल भएको र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए। उनले भविष्यमा गर्ने विभिन्न कार्यक्रम विषयमा चर्चा परिचर्चा गरेका थिए।कार्यक्रममा खरसाङ क्षेत्रका पत्रकारहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement