जिते पचास हजार रुपियाँको पुरस्कार
खरसाङ: दार्जिलिङ पुलिसको आयोजनामा दार्जिलिङमा हुन लागेको टिस्टा फेस्टको लागि गायन क्षेत्रमा शुरु राईजिङ स्टारको खरसाङ पुलिस थाना अन्तर्गतको ग्राण्ड फिनाले सम्पन्न भएको छ। उक्त राईजिङ स्टारको खरसाङ पुलिस थाना स्तरीयको विजेता आर्यन तामाङ बनेका छन् भने उप विजेता सुजता लामगादे बनेकी छन्। उक्त फिनालेमा विजेता आर्यन तामाङलाई खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस हरदीप सिंहको बाहुलीबाट प्रमाण पत्र र ट्रफीसहित नगदराशि पचास हजार रुपियाँ प्रदान गरिएको छ। त्यसरी नै उप विजेता सुजता लामगादेलाई खरसाङ पुलिस थानाका आईसी पलास मोहन्तोको बाहुलीबाट प्रमाण पत्र र ट्रफीसहित नगदराशि तीस हजार रुपियाँ प्रदान गरिएको छ। अब दुवैजना खरसाङ, मिरिक र दार्जिलिङ सदरका दुई दुईजनालाई लिएर खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा आगामी २२ नोभेम्बरमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ। यसबाहेक अन्य छजनालाई प्रमाण पत्रहरु प्रदान गरिएको छ। खरसाङ पुलिस थाना स्तरीयको लागि राईजिङ स्टारको अडिशन गत १३ र १४ नोभेम्बरमा भएको थियो भने आज आईतवार आठजनालाई लिएर खरसाङ पुलिस थाना स्तरीय ग्राण्ड फिनाले सम्पन्न भएको छ। सबिना परियार र बिमल गुरुङले सञ्चालन गरेको उक्त फिनालेमा जम्मा ८ जनाले प्रथममा हिन्दी र दोस्रोमा नेपाली गीत प्रस्तुत गरेका थिए। उक्त 8 जना गत १३ र १४ नोभेम्बरमा भएको अडिशनमा आएका २५६ जनाबाट चयन भएर आएका थिए।

यस ८ जनाबाट २ जना विजेता र उपविजेता भएर जोनल राउण्डको लागि चयन भएका छन्। यस फिनालेमा निर्णायकको रुपमा वरिष्ठ संगीतकारहरु क्रमैले महेश्वर लामा, विकाससिंह लोहार र रुपेस रसाइली रहेका छन्। यस कार्यक्रममा अतिथिको रुपमा वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, समाजसेवक अशोक अग्रवाल, राजु अग्रवाल, जोगेन्द्र प्रसाद, विक्रम प्रधान, निर्मल गुरुङ, प्रभा छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए भने खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस हरदीप सिंह, आईसी पलास मोहन्तो, खरसाङ टाउन आउट पोष्टक बडाबाबु सागर प्रधान लगायत खरसाङ थाना अन्तर्गत गाडीधुरा, तीनधारे, दिलराम, सेवोक पुलिस आउट पोष्टका पुलिस अधिकारीहरु पनि उपस्थित रहेका थिए।

यस अवसरमा अतिथिहरुलाई पुलिस अधिकारीहरुका बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको थियो।





