नयाँ दिल्ली: दुश्मनलाई अचम्ममा पार्ने कारबाही तथा कुनै पनि अप्रत्याशित कदमबाट जुध्न सक्ने तयारी भविष्यका सुरक्षा चुनौतीहरूका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको रक्षामन्त्री राजनाथ सिंहले बताएका छन्। आधुनिक युद्धकलामा यस प्रकारको रणनीतिको महत्तामा जोड दिँदै उनले भारतीय वायुसेनालाई आफ्ना आक्रामक एवं रक्षात्मक क्षमताहरूलाई निरन्तर सुदृढ राख्न निर्देश दिएका छन्।
बुधबार नयाँ दिल्लीमा आयोजित वायुसेना कमाउन्टर सम्मेलनलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भविष्यका युद्धहरू लडाकु विमानहरूको सङ्ख्याले मात्र नभई प्राविधिक श्रेष्ठता, द्रुत प्रतिक्रिया क्षमता तथा सटीक पूर्वतयारीका आधारमा जितिने स्पष्ट पारे। उनले आधुनिक युद्धको स्वरूप तीव्र गतिले फेरबदल भइरहेको उल्लेख गर्दै लडाइँ अब परम्परागत युद्धक्षेत्रमा मात्र सीमित नरही क्षेप्यास्त्र, ड्रोन तथा अत्याधुनिक शस्त्र प्रणालीहरूसम्म विस्तार भएको बताए।
रूस-युक्रेन र इजरायल-हमास द्वन्द्वहरूको सन्दर्भ प्रस्तुत गर्दै उनले ती सङ्घर्षहरूमा ड्रोन र वायु रक्षा प्रणालीहरूले निर्णायक भूमिका खेलेको बताए। तसर्थ, भारतीय वायुसेनाले आत्मघाती ड्रोन, निगरानी तथा एन्टी-ड्रोन अपरेसनजस्ता उदीयमान चुनौतीहरूको सामना गर्न पूर्ण रूपमा तयार रहनुपर्ने उनको भनाइ थियो।
सम्मेलनका क्रममा वायुसेनाको डिजिटल तथा प्राविधिक क्षमता अभिवृद्धि गर्न विकसित कृत्रिम बौद्धिकता (एआई) आधारित विभिन्न नयाँ अनुप्रयोगहरूको समेत शुभारम्भ गरियो। रक्षामन्त्री सिंहले वायुसेनालाई इलेक्ट्रोनिक युद्ध, साइबर तथा अन्तरिक्ष जस्ता नयाँ क्षेत्रहरूसँग जुध्न विशेष रणनीति र सबल व्यवस्था विकास गर्न आह्वान गर्दै ‘अपरेसन सिन्दूर’ का दौरान थलसेना, नौसेना र वायुसेनाबिच देखिएको उत्कृष्ट समन्वयको मुक्तकण्ठले प्रशंसा गरे।





