‘अहिलेसम्म भाजपाले जे चाह्यो त्यही भन्यो, आमा चुप रहनुभयो’: प्रियंका
नयाँ दिल्ली: भारतीय कंग्रेसकी सांसद प्रियंका गान्धी वाड्राले आफ्नी आमा सोनिया गान्धीको हालै प्रकाशित पुस्तक ‘बिलङ्गिङ: अ जर्नी अफ लभ’ बारे पहिलो प्रतिक्रिया दिएकी छन्। बिहीबार केरलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लामो समयसम्म आफ्नी आमाविरुद्ध विभिन्न भ्रम र झुटो प्रचार गरिए पनि उहाँ मौन रहनुभएको उल्लेख गरिन्।
प्रियंकाले भनिन्, “भारतमा मेरी आमाले बिताउनुभएको सम्पूर्ण वयस्क जीवनकालमा भाजपा, आरएसएस र अन्य धेरैले उहाँबारे जे मन लाग्यो त्यही भने। उहाँविरुद्ध झुट बोलियो र मनगढन्ते कथाहरू बनाइयो, तर उहाँ चुप रहनुभयो।” अब सोनिया गान्धीले आफ्नो जीवनको यथार्थ र अनुभव पुस्तकमाफर्त बाहिर ल्याएको बताउँदै उनले सत्य बोल्नु आमाको अधिकार भएको स्पष्ट पारिन्। साथै, सत्तारुढ दल भाजपा र आरएसएसका नेताहरूले उक्त पुस्तक पढ्न थालेकोमा आफूलाई खुसी लागेको व्यङ्ग्यसमेत गरिन्।
भारतीय राजनीतिमा लामो समयदेखि निजी र पारिवारिक जीवनबारे कमै बोल्ने सोनिया गान्धीले यस संस्मरणात्मक पुस्तकमार्फत आफ्नो परिवार, राजनीतिक प्रतिस्पर्धी, जीवनका चुनौती तथा १० वर्षे युपिए सरकारका पालाका महत्वपूर्ण घटनाक्रमहरू समेटेकी छन्। पुस्तकमा भाजपा र आरएसएसप्रति गरिएका टिप्पणीका कारण यतिबेला भारतको सत्तापक्षले सोनिया गान्धीको कडा आलोचना गरिरहेको छ।





