बुलडोजर चलाएर मेरो आवाज दबाउन सकिँदैनः अभिषेक ब्यानर्जी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 75?

कोलकाता: आफ्नो आवासअगाडि निर्माण गरिएको अस्थायी सुरक्षा संरचना बुलडोजर लगाएर हटाइएपछि तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले कडा आपत्ति जनाएका छन्। उनले यस घटनालाई राजनीतिक प्रतिशोधसँग जोड्दै आफू कुनै पनि दबाबसामु नझुक्ने स्पष्ट पारेका छन्।
ब्यानर्जीले बिहीवार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत प्रतिक्रिया सार्वजनिक गर्दै बुलडोजरको प्रयोगबाट आफ्नो आवाज र सङ्घर्षलाई रोक्न नसकिने बताएका छन्। उनले भनेका छन्, “जति नै बुलडोजर ल्याए पनि मेरो आवाज दबाउन वा मेरो दृढ सङ्कल्प कमजोर बनाउन सकिँदैन। बङ्गालविरोधी शक्तिहरूविरुद्धको मेरो लडाइँ निरन्तर जारी रहनेछ। अन्तिम साससम्म म आफ्नो अडानबाट पछि हट्ने छैन र एक इञ्च पनि जमिन छोड्ने छैन।”
प्राप्त जानकारीअनुसार, बिहीवार बिहानैदेखि कालीघाट रोडस्थित ब्यानर्जीको निवासको मुख्य प्रवेशद्वारबाहिर रहेको फुटपाथछेउको अस्थायी सुरक्षा शेड हटाउने काम सुरु गरिएको थियो। उक्त कारबाहीका क्रममा ठूलो सङ्ख्यामा केन्द्रीय सुरक्षा बल तथा कोलकाता पुलिसका जवान परिचालन गरिएको थियो। उनीहरूको उपस्थितिमा बुलडोजर प्रयोग गरी अस्थायी संरचना भत्काइएको हो।
यसअघि अभिषेक ब्यानर्जीको कार्यालयले उक्त संरचना सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै राज्य प्रहरीको डाइरेक्टरेट अफ सेक्युरिटीको निर्देशनमा निर्माण गरिएको स्पष्ट पारेको थियो।
सुरक्षा संरचना हटाइएपछि ब्यानर्जीले दिएको आक्रामक राजनीतिक अभिव्यक्तिले पश्चिम बङ्गालको राजनीतिक माहोल थप तातेको छ। घटनालाई लिएर सत्तारूढ तृणमूल कङ्ग्रेस र विपक्षी पक्षबीच राजनीतिक विवाद चर्किने सङ्केत देखिएको छ।

About Author

Advertisement