प्रदर्शनको विधायक सोनाम लामाद्वारा उदघाटन
खरसाङ: खरसाङको सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयमा बिहीवार विद्यार्थीहरूद्वारा निर्मित हस्तकला प्रदर्शनी एवम् वार्षिक उत्सव सम्पन्न गरियो। यस कार्यक्रममा उद्घाटन खरसाङका विधायक सोनाम लामाले रिबीन काटेर गरे। यस अवसरमा उनले विद्यालयका विद्यार्थीहरूद्वारा तयार पारिएका विभिन्न हस्तकला एवम् परियोजनाहरूको अवलोकन गरे तथा विद्यार्थीहरूको यस प्रकारको कार्यको प्रशंसा गरे। विद्यार्थीहरूले यहाँ विविध विषयहरूमाथि तयार पारिएको परियोजना तथा हस्तकलाहरूलाई प्रदर्शनीको निम्ति राखिएको थियो, जो अत्यन्तै सुन्दर, सराहनीय अनि भव्य रहेको थियो।

यस अवसरमा विद्यालयको पक्षबाट अनि विद्यालयकी प्रधान अध्यापिका सिस्टर जसबीनको बाहुलीबाट विधायक लामालाई शल ओडाएर सम्मान जनाइयो तथा विधायक बनेकोमा बधाई दिँदै उनकै हातबाट केक कटाइयो। कार्यक्रमबारे जानकारी गराउँदै विद्यालयकी भूतपूर्व प्रधान अध्यापिका सिस्टर विनी फ्रेडले प्रत्येक वर्ष झैँ यस वर्ष पनि विद्यालयले वार्षिक उत्सव एवम् प्रदर्शनीको कार्यक्रम गरेकोमा आफू धेरै खुशी भएको जनाइन्। तिनले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र दिएर होइन तर उनीहरूको सर्वाङ्गीण विकासको निम्ति यस्ता विभिन्न खेलकुद तथा विषयवस्तुहरूमाथि ज्ञान र अवसर दिनुपर्छ भन्दै सन्त जोसेफ स्कूलले विद्यार्थीहरूलाई सदैव यस्ता अवसरहरू प्रदान गर्ने गरेको बताइन्।

सिस्टर फ्रेडले यस अवसरमा सम्पूर्ण विद्यालय पक्षलाई बधाई अनि शुभकामना पनि दिइन्। यता विद्यालयका विद्यार्थी अनि शिक्षिकाहरूद्वारा राखिएका विभिन्न मनोरञ्जनात्मक खेलहरूको उपस्थित अतिथि अनि विद्यार्थीहरू, शिक्षक, शिक्षिका तथा अन्यहरूले मज्जा लिए तथा स्टलहरूको भ्रमण गरे।





