दिवङ्गत साहित्यकारहरूप्रति शोक व्यक्त
गान्तोक: नेपाली साहित्य परिषद् सिक्किमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जयन्ती आगामी १५ नोभेम्बर, २०२६ का दिन भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ।
गान्तोकस्थित नेपाली साहित्य परिषद् भवनमा सोमबार परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यकारिणी समितिको विशेष बैठकले उक्त निर्णय गरेको हो।
परिषद्द्वारा जारी प्रेस विज्ञप्ति अनुसार, आगामी १५ नोभेम्बरका दिन बिहान ११:३० बजेदेखि परिषद् भवनमा जयन्ती समारोह सुरु हुनेछ। कार्यक्रममा महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्व तथा कृतित्वमाथि गहन चर्चा-परिचर्चा गरिनुका साथै विशेष कविता वाचन कार्यक्रमको समेत आयोजना गरिनेछ।
यसअघि, बैठकको प्रारम्भमा वरिष्ठ पत्रकार तथा परिषद्का आजीवन सदस्य विजय बान्तवा, आजीवन सदस्य भूपेन्द्र पराजुली एवं वरिष्ठ साहित्यकार शमशेर अलीको दुखद निधनप्रति गहिरो शोक व्यक्त गरियो। दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै उपस्थित सदस्यहरूले दुई मिनेट मौनधारण गरेका थिए।
बैठकमा परिषद्का आगामी भावी कार्यक्रमहरू तथा विभिन्न साहित्यिक गतिविधिहरूलाई अझ सशक्त रूपमा अघि बढाउने विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ।





