मङ्पु: रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालय, मङ्पूको आयोजनामा सञ्चालित स्वर्गीय एन. एल. राई स्मृति अन्तरविद्यालय तर्क प्रतियोगिताको अन्तिम खेल स्थानीय रवीन्द्र भवन, मङ्पूमा सम्पन्न भएको छ। अन्तिम खेलमा रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालय विजयी हासिल गर्न सफल भएको छ भने गेल उच्चत्तर माध्यमिक विद्यालयले उप विजेताको स्थान हासिल गरेको छ भने उत्कृष्ट वक्ताको रुपमा गेल उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थी रिधेन शेर्पालाई चयन गरियो।कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. सुजाता रानी राई, कुल सचिव दार्जिलिङ पार्वत्य विश्वविद्यालय उपस्थिति थिइन् भने कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक दिलीपकुमार गुरुङले गरेका थिए। यसको साथै प्रतियोगितामा उत्कृष्ट वक्ताहरूले प्रभावशाली तर्क तथा प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा मङ्पू क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, प्राचार्य, हिल युनिभर्सिटीका प्राध्यापकहरू, विद्यार्थी, अभिभावक तथा स्थानीय वरिष्ठ एवं विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा शिक्षक शिक्षिकाहरू दुष्यन्त रामुदामु, दीप मोक्तान, कञ्चन कुमार राई र जगत राईले संयुक्त रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। स्वर्गीय एन. एल. राईको स्मृतिलाई सम्मान गर्दै विद्यार्थीहरूमा तार्किक क्षमता, वक्तृत्वकला, आत्मविश्वास, विचार अभिव्यक्ति तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस तर्क प्रतियोगिताले मङ्पू क्षेत्रका विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।
समग्रमा, प्रतियोगिताको अन्तिम खेल उत्साहपूर्ण, मर्यादित रुप मा सम्पन्न भएको थियो।





