खरसाङ: तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरेन क्लबको आयोजनामा भईरहेको नगराशि फुटबल टुर्नामेन्ट अन्तर्गत शनिवार भएको पहिलो क्वाटर फाइनल खेल आजाद स्पोर्टिङ क्लब सिलगढी र ताराबारी एफसी बाघडोगरामाझ सम्पन्न भएको थियो। यस खेलमा ताराबारी एफसीले एक गोल गरेर खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने दोस्रो क्वाटर फाइनल खेलमा सिलिम हिल एफसी अनि तीनधारे स्पोर्टिङ्ग एसोसिएसनमाझ भएको थियो। यस खेलमा १ को विरूध्द ५ गोल गरेर सिलिम हिल एफसी विजय बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। यस क्रममा पहिलो म्याचको म्यान अफ् द म्याच ताराबारी एफसीका जर्सी नम्बर 9 सहिद साईबोलाई घोषित गरियो भने दोस्रो म्याचमा सिलिम हिल एफसीको तर्फबाट २ गोल र १ एसिस्ट गर्ने जर्सी नम्बर १० गौरव तामाङले म्यान अफ् द म्याच प्राप्त गरेका छन्। यस दुईवटा क्वाटर फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नयाँ कमान भेटरेन क्लबको तर्फबाट सदस्य मिलन प्रधानले विस्तृत जानकारी गराएका छन्। उनले बताए अनुसार यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १५ नोभेम्बरमा हुने भएको छ। उनले यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफिसहित एक लाख र उप विजेतालाई ट्रफिसहित पचास हजार नगदराशि पनि प्रदान गरिने भएको जानकारी गराएका थिए।





