ग्याल्सिङ: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ‘प्रधानमन्त्री किसान सम्मान निधि’ (पीएम-किसान) योजनाको २४औँ किस्ता जारी गरिएको अवसरमा ग्याल्सिङ जिल्लाको ही मार्टाम ब्लकमा एक प्रत्यक्ष प्रसारण कार्यक्रम आयोजना गरिएको छ। कृषि विभाग, ग्याल्सिङ जिल्लाको सहकार्यमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कृषि विभागका उपनिर्देशक सुरज क्षेत्री, आत्मा (एटीएमए) का ब्लक प्रविधि प्रबन्धक विवेक शर्मा, किसान उत्पादक सङ्गठनका अध्यक्ष तथा स्थानीय कृषकहरूको बाक्लो उपस्थिति रहेको थियो।
कृषकहरूलाई पीएम-किसान योजनाबारे सचेत गराउनुका साथै वित्तीय सहायता र कृषक समुदायको आर्थिक सुरक्षा सुदृढ बनाउन सरकारले गरेका प्रयासबारे जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। सो अवसरमा सहभागीहरूले राष्ट्रिय स्तरको उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्नुका साथै कृषक कल्याणकारी योजना र कृषि विकासमा सरकारी सहयोगको महत्त्वबारे जानकारी प्राप्त गरेका थिए।
कृषि विभाग, आत्मा, किसान उत्पादक सङ्गठनका प्रतिनिधि तथा कृषकहरूको सहभागिताले तल्लो तहसम्म विभिन्न कृषि योजनाहरूबारे सूचना पुर्याउन संस्थागत समन्वय र सामूहिक प्रयासको महत्त्वलाई उजागर गरेको छ।
ही मार्टाम ब्लकमा कृषकहरूको जीविकोपार्जनमा सुधार ल्याउन कृषक सचेतना सुदृढ गर्ने, सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र दिगो कृषि विकासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ कार्यक्रम समापन भएको थियो।





