भाजपा सिक्किम एसटी मोर्चाका अध्यक्ष कर्मा सोनाम भुटियाद्वारा नयाँ दिल्लीमा समन्वय बैठक
नयाँ दिल्ली। आगामी ‘जनजातीय गौरव दिवस २०२६’ को तयारीका सिलसिलामा भारतीय जनता पार्टी (भाजपा) सिक्किम एसटी मोर्चाका अध्यक्ष कर्मा सोनाम भुटियाले नयाँ दिल्लीमा आयोजित समन्वय बैठकमा सहभागिता जनाउनुभएको छ।
बैठकका क्रममा अध्यक्ष भुटियाले भाजपाका राष्ट्रिय सङ्गठक नरेन्द्रनाथ त्रिपाठीबाट बहुमूल्य मार्गदर्शन तथा आशीर्वाद ग्रहण गर्नुभएको थियो। सोही अवसरमा उहाँले एसटी मोर्चाका राष्ट्रिय सचिवद्वय प्रदीप कोइनिया र मदन राईसँग भेटघाट तथा छलफल गर्नुभएको छ।
राष्ट्रिय नेतृत्वको मार्गदर्शन र प्रोत्साहनबाट प्रेरित भई अध्यक्ष भुटियाले सिक्किममा जनजातीय गौरव दिवसका कार्यक्रमहरूलाई भव्य रूपमा सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, उहाँले जनजातीय समाजको कल्याण, अधिकार र सशक्तीकरणका लागि आफ्नो समर्पणलाई अझ सुदृढ बनाएर लैजाने बताउनुभएको छ।





