खरसाङमा स्ट्रीट लाइट र फोहोर व्यवस्थापन सुधारको माग गर्दै भाजपा प्रतिनिधि मण्डलद्वारा नगरपालिकामा ज्ञापन

95d2dbe0-8100-43f8-9c6f-d16a3073dd1d

खरसाङ: खरसाङ बजार क्षेत्रमा बढ्दो अँध्यारो र अव्यवस्थित फोहोर व्यवस्थापनको समस्यालाई लिएर बिहीबार भारतीय जनता पार्टीका खरसाङ टाउन मण्डल, चिमनी देवराली मण्डल तथा गिद्ध पहाड़ मण्डलका अध्यक्ष, प्रतिनिधि एवं कार्यकर्ताहरूले खरसाङ नगरपालिकामा पुगेर जनताका यी समस्याहरूबारे सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराउँदै ज्ञापन बुझाएका छन्। प्रतिनिधि मण्डलले खरसाङ नगर क्षेत्रका विभिन्न स्थानमा स्ट्रीट लाइटहरू सञ्चालनमा नरहेको वा पर्याप्त प्रकाशको व्यवस्था नभएका कारण सर्वसाधारण, विद्यार्थी तथा रातिको समयमा आवतजावत गर्ने मानिसहरूले कठिनाइ भोग्नुपरेको विषय उठान गरेका छन्। विशेषगरी चाडपर्वको समयमा नागरिकहरूको सहज अवगमन र सुरक्षालाई ध्यानमा राख्दै दिवाली अघि नै स्ट्रीट लाइटको व्यवस्थामा सुधार गरी आवश्यक स्थानहरूमा बत्ती सञ्चालनमा ल्याउन माग गरेका छन्। त्यसैगरी खरसाङ टाउनका विभिन्न स्थानमा जथाभावी फोहोर फ्याँकिएको तथा नियमित रूपमा फोहोर सङ्कलन र सरसफाइ हुन नसकेको विषयमा पनि प्रतिनिधि मण्डलले गम्भीर विषयलाई पनि उठाएका छन्। चाडपर्वको समयमा बजार क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित राख्न फोहोरको नियमित सङ्कलन तथा उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्। प्रतिनिधि मण्डलले नगरपालिकालाई स्पष्ट रूपमा अवगत गराल कि स्ट्रीट लाइट र फोहोर व्यवस्थापनसम्बन्धी समस्याका कारण जनताले दैनिक कठिनाइ भोगिरहेका छन्। यस विषयमा जनताले विधायक तथा भाजपाका प्रतिनिधिहरू समक्ष समेत गुनासो राख्दै आएका छन्। त्यसैले समस्याको शीघ्र समाधान गरी जनतालाई राहत प्रदान गर्न नगरपालिका प्रशासनले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका थिए। खरसाङ नगरपालिकाका प्रतिनिधिहरूसँगको छलफलका क्रममा फोहोर व्यवस्थापनमा तल्लो तहका कर्मचारीहरूबाट अपेक्षाअनुसार काम हुन नसकेको तथा फोहोर सङ्कलन गर्ने गाडीहरुको अभाव र सवारीसाधन बारम्बार बिग्रिने समस्याका कारण नियमित कामकाजमा कठिनाइ भइरहेको जानकारी गराइएको छ।

नगरपालिकाका प्रतिनिधिहरूका अनुसार खरसाङका विधायकको पहलमा फोहोर व्यवस्थापनका लागि दुईवटा नयाँ गाडीको स्वीकृति प्राप्त भइसकेको र ती गाडी किन्नका लागि टेण्डर प्रक्रिया अघि बढाइएको छ। प्रक्रिया अन्तिम चरणमा अघि बढिरहेको जानकारी दिँदै आगामी १०-१२ दिनसम्म केही कठिनाइ रहन सक्ने र नयाँ गाडीहरू सञ्चालनमा आएपछि फोहोर सङ्कलन तथा सरसफाइको कामलाई थप व्यवस्थित बनाउने आश्वासन दिइएको छ।
यद्यपि, भाजपा प्रतिनिधि मण्डलले चाडपर्वको समयमा जनतालाई फोहोरको समस्यामा छोड्न नसकिने स्पष्ट पार्दै नयाँ गाडी सञ्चालनमा नआउँदासम्म पनि वैकल्पिक व्यवस्था गरेर नियमित रूपमा फोहोर उठाउने र बजार क्षेत्र सफा राख्ने काम गर्नुपर्ने माग राखेका छन्। यसको साथै कर्मचारीहरूको कार्य सम्पादनमा सुधार ल्याई नगरपालिकाले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ। प्रतिनिधि मण्डलले समस्याको समाधानका लागि पर्याप्त समय दिइसकिएको उल्लेख गर्दै अब थप ढिलाइ स्वीकार्य नहुने पनि बताएका छन्। स्ट्रीट लाइटको समस्या दिवालीअघि समाधान गर्न तथा फोहोर व्यवस्थापनमा तत्काल सुधार ल्याउन नगरपालिकालाई आग्रह गरेका छन्। भाजपा प्रतिनिधि मण्डलले खरसाङवासीहरूको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका यी विषयहरूलाई प्राथमिकतामा राखेर निरन्तर पहल गरिरहने जनाएको छ। बजार क्षेत्रको सरसफाइ, लाइटको व्यवस्था र नागरिकहरूको सहज अवगमन सुनिश्चित गर्नु सम्बन्धित निकायको जिम्मेवारी भएकाले जनताका गुनासाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।नियमित सरसफाइ
जनताको दैनिक जीवनसँग जोडिएका समस्याहरूको शीघ्र समाधानका लागि खरसाङ नगरपालिका प्रशासनले तत्काल प्रभावकारी कदम चाल्ने अपेक्षा भाजपा प्रतिनिधि मण्डलले गरेका छन्।

About Author

Advertisement