खरसाङ: खरसाङमा सेवा भारतीद्वारा सहायक उपकरण वितरण तथा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।खरसाङको राज राजेश्वरी हलमा बिहीबार राष्ट्रिय स्वयंसेवक संघ अन्तर्गत सेवा भारती, खरसाङ नगर शाखाको आयोजनामा सहायक उपकरण वितरण तथा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। उक्त कार्यक्रम अचल फाउण्डेशन सिलगढी तथा ग्रेटर लायन्स क्लब, सिलगढीको सहकार्य र सहयोगमा आयोजना गरिएको छ। कार्यक्रममा जरूरतमन्द व्यक्तिहरूलाई सहायक उपकरण वितरण गर्नुका साथै सर्वसाधारणका लागि निःशुल्क आँखा जाँचको व्यवस्था गरिएको थियो।विशेष गरी आँखासम्बन्धी समस्या भएका व्यक्तिहरूलाई आवश्यक परामर्श तथा उपचारको सुविधा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको थियो।

यसका साथै मोतियाबिन्दबाट पीडित व्यक्तिहरूका लागि निःशुल्क शल्यक्रिया अपरेसनको व्यवस्था समेत गरिएको थियो जसले आर्थिक अभावका कारण उपचार गराउन कठिनाइ भोगिरहेका व्यक्तिहरूलाई ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।सेवा भारतीले समाजका जरूरतमन्द तथा विपन्न वर्गका मानिसहरूसम्म स्वास्थ्य सेवा र आवश्यक सहयोग पुर्याउने उद्देश्यका साथ आयोजना गरेको यस कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानवीय संवेदना तथा सेवाभावको महत्त्वलाई उजागर गरेको छ।

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने अचल फाउन्डेसन, ग्रेटर लायन्स क्लब, सिलगढी तथा सम्पूर्ण सहयोगीहरूप्रति आयोजकको तर्फबाट आभार व्यक्त गरिएको छ। समाजका हरेक वर्गका मानिसहरूले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले आयोजित यस प्रकारका सेवामूलक कार्यक्रमले जनकल्याणको क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।





