अर्गानिक महलाई विश्व बजारमा पुर्याइने
शिलांग। मेघालयका मुख्यमन्त्री कोनराड के साङ्माले दक्षिण पश्चिम गारो हिल्स जिल्लाको रेरापारास्थित मेलिममा मौरीपालन बहुउद्देश्यीय सुविधा तथा प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको छ। मौरीपालन व्यवसायलाई सुदृढ बनाउन र स्थानीय बासिन्दाका लागि जीविकोपार्जनका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री साङ्माले मेघालयको मह संसारकै उत्कृष्ट महमध्ये पर्न सक्ने सम्भावना रहेको बताउनुभयो। वैज्ञानिक मौरीपालन, गुणस्तरीय प्रशोधन, आकर्षक प्याकेजिङ र बलियो ब्रान्डिङमार्फत प्रदेशको अर्गानिक महलाई विश्व बजारमा पुर्याउन सकिने धारणा उहाँले व्यक्त गर्नुभयो।
प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘अपिकल्चर मिसन २.०’ अन्तर्गत सबै १२ जिल्लाका ८७ वटा क्लस्टरमा रहेका ६ हजार ४९१ मौरीपालक कृषकहरूलाई सहयोग पुर्याइँदै आएको उहाँले जानकारी दिनुभयो। १ करोड ५२ लाख रुपियाँको लागतमा निर्मित यस नयाँ सुविधा केन्द्रले मह प्रशोधन, बोटलिङ, परीक्षण, बजारीकरण र घार (बी-बक्स) निर्माणका माध्यमबाट महको मूल्य शृङ्खलालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

यसैगरी मेघालयको महको विशिष्ट पहिचान र सम्भावनालाई प्रवर्द्धन गर्न प्रदेशमा मौरी सङ्ग्रहालय (बी म्युजियम) तथा व्याख्या केन्द्र (इन्टरप्रिटेसन सेन्टर) स्थापनाको सम्भावना अध्ययन भइरहेको पनि मुख्यमन्त्री साङ्माले बताउनुभयो।





