मेघालय: मौरीपालन प्रशोधन केन्द्रको उद्घाटन

FB_IMG_1792501227346

अर्गानिक महलाई विश्व बजारमा पुर्‍याइने

​शिलांग। मेघालयका मुख्यमन्त्री कोनराड के साङ्माले दक्षिण पश्चिम गारो हिल्स जिल्लाको रेरापारास्थित मेलिममा मौरीपालन बहुउद्देश्यीय सुविधा तथा प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको छ। मौरीपालन व्यवसायलाई सुदृढ बनाउन र स्थानीय बासिन्दाका लागि जीविकोपार्जनका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो।
​उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री साङ्माले मेघालयको मह संसारकै उत्कृष्ट महमध्ये पर्न सक्ने सम्भावना रहेको बताउनुभयो। वैज्ञानिक मौरीपालन, गुणस्तरीय प्रशोधन, आकर्षक प्याकेजिङ र बलियो ब्रान्डिङमार्फत प्रदेशको अर्गानिक महलाई विश्व बजारमा पुर्‍याउन सकिने धारणा उहाँले व्यक्त गर्नुभयो।
​प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘अपिकल्चर मिसन २.०’ अन्तर्गत सबै १२ जिल्लाका ८७ वटा क्लस्टरमा रहेका ६ हजार ४९१ मौरीपालक कृषकहरूलाई सहयोग पुर्‍याइँदै आएको उहाँले जानकारी दिनुभयो। १ करोड ५२ लाख रुपियाँको लागतमा निर्मित यस नयाँ सुविधा केन्द्रले मह प्रशोधन, बोटलिङ, परीक्षण, बजारीकरण र घार (बी-बक्स) निर्माणका माध्यमबाट महको मूल्य शृङ्खलालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

​यसैगरी मेघालयको महको विशिष्ट पहिचान र सम्भावनालाई प्रवर्द्धन गर्न प्रदेशमा मौरी सङ्ग्रहालय (बी म्युजियम) तथा व्याख्या केन्द्र (इन्टरप्रिटेसन सेन्टर) स्थापनाको सम्भावना अध्ययन भइरहेको पनि मुख्यमन्त्री साङ्माले बताउनुभयो।

About Author

Advertisement