रङ्पो आईटीआई सुधारका लागि उद्योगीहरूसँग परामर्श, रङ्पो आईटीआईको ‘गोल्डेन जुब्ली’ मनाइने

FB_IMG_1792249256323

​गान्ताेक: सिक्किम सरकारको सीप विकास विभागले प्रधानमन्त्री सीप तथा रोजगारी रूपान्तरण (पीएम-सेतु) योजना अन्तर्गत रङ्पो औद्योगिक प्रशिक्षण संस्थान (आईटीआई) क्लस्टरको आधुनिकीकरण र सञ्चालनका लागि उद्योग प्रतिनिधिहरूसँग उच्चस्तरीय परामर्श बैठक आयोजना गरेको छ।
​भारत सरकारको फ्ल्यागसिप कार्यक्रम ‘पीएम-सेतु’को घटक-१ अन्तर्गत सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा आईटीआईको स्तरोन्नति गर्न लागिएको हो। यस योजना अनुसार सरकारसँगको सहकार्यमा एक ‘विशेष प्रयोजन वाहन’ (एसपीभी) मार्फत रङ्पो आईटीआई क्लस्टरलाई आधुनिक बनाउन, सञ्चालन तथा व्यवस्थापन गर्न एक मुख्य उद्योग साझेदार (एंकर इंडस्ट्री पार्टनर) चयन गरिनेछ। यसका लागि विभागले गत २ सेप्टेम्बर २०२६ मा प्रस्ताव आह्वान (आरएफपी) गरिसकेको छ।
​सीप विकास विभागका सचिव तुषार निखारेको अध्यक्षतामा सम्पन्न बैठकमा विभागका विशेष सचिव तथा निर्देशक सम्दुप भुटियाले पीएम-सेतु योजनाको उद्देश्य, उद्योगकेन्द्रित सञ्चालन ढाँचा र आरएफपीका प्रमुख प्रावधानहरूबारे प्रस्तुतीकरण दिएका थिए। छलफल विशेष गरी स्थानीय युवाहरूका लागि आधुनिक बजार अनुसारको तालिम, इन्टर्नसिप र रोजगारीका अवसरहरू बढाउनमा केन्द्रित थियो।
​बैठकमा विभागले उद्योग साझेदारहरूलाई आगामी दिनमा चाहिने जनशक्ति, इन्टर्नसिपका अवसर र क्षेत्रगत तालिमको आवश्यकता सम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको छ। साथै, रङ्पोस्थित आईटीआईको निर्माणाधीन भवनलाई फर्मास्यूटिकल (औषधि) सम्बन्धी विशेष तालिम केन्द्रका रूपमा विकास गर्ने सम्भावनावारे अध्ययन गर्न औषधि उत्पादक कम्पनीहरूलाई आह्वान गरिएको छ।
​परामर्श बैठकमा रेलटेल, अल्केम ल्याबोरेटडिज, ग्लेनमार्क, सन फार्मा, सिक्किम ऊर्जा लिमिटेड, एनएचपीसी, सिप्ला, टोरेन्ट फार्मास्यूटिकल्स, म्याक्लियोड्स फार्मास्यूटिकल्स तथा मेधावी स्किल युनिभर्सिटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
​सो अवसरमा सचिव निखारेले आगामी २३ देखि २८ नोभेम्बर २०२६ सम्म आयोजना हुन गइरहेको सरकारी आईटीआई रङ्पोको ५०औँ वार्षिकोत्सव (गोल्डेन जुब्ली) समारोहमा सहभागी हुन सम्पूर्ण उद्योग साझेदारहरूलाई निमन्त्रणासमेत दिएका छन्।

About Author

Advertisement