मङ्गन: सिक्किमको मङ्गन जिल्लामा ‘बेटी बचाऊ बेटी पढाऊ’ (बीबीबीपी) अभियान अन्तर्गत शनिबार एक विशेष ‘बेटी जन्मोत्सव’ कार्यक्रम आयोजना गरिएको छ। महिला, बाल, ज्येष्ठ नागरिक तथा दिव्यांगजन कल्याण विभाग, मङ्गन जिल्लाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लिङदिङ, किमरोङ, ब्लु तुम्बुक र सिङ्घिक क्षेत्रका सुत्केरी आमाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा मङ्गनकी बाल विकास परियोजना अधिकारी (सीडीपीओ) सोनाम ल्हादेन लाचुङ्पाले ‘बेटी बचाऊ बेटी पढाऊ’ योजनाका मुख्य उद्देश्य र यसका प्रमुख पक्षहरूबारे प्रकाश पारिन्। उनले नवजात शिशुका लागि पूर्ण स्तनपानको महत्त्व, सही समयमा थप पोषिलो आहारको सुरुवात, तथा सुत्केरी हुनुअघि र पछि हुनसक्ने मानसिक तनाव व्यवस्थापनबारे जानकारी गराइन्। साथै, सुत्केरी स्याहारका क्रममा आमाहरूलाई परिवार र समाजबाट विशेष हेरचाह र सहयोगको खाँचो पर्नेमा उनले जोड दिइन्।
त्यसैगरी, पोषण निरीक्षक सोनाम नामग्यालले सुत्केरी आमाहरूका लागि सन्तुलित भोजन र उपयुक्त पोषणको महत्त्वबारे सहभागीहरूलाई सचेत गराए। साना बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पूरक आहार, त्यसको तयारी, खुवाउने समय र मात्राबारे पनि उनले विस्तृत जानकारी दिएका थिए।





