मधुर मिलन सङ्घद्वारा सिलगढ़ीमा भव्य फूलपाती शोभायात्रा

FB_IMG_1792247930429

​सिलगढ़ी: सिलगढ़ीमा मधुर मिलन सङ्घको आयोजनामा शनिबार एक भव्य तथा भक्तिमय फूलपाती शोभायात्रा सम्पन्न भएको छ। उक्त पावन अवसरमा दार्जीलिङका सांसद राजु बिष्टले प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका छन्।
​शोभायात्रालाई सम्बोधन गर्दै सांसद बिष्टले फूलपाती केवल धार्मिक कर्मकाण्ड मात्र नभई नेपाली संस्कृति र परम्पराले बाँधिएका सम्पूर्ण जात-जातिहरूको सांस्कृतिक एकता, भ्रातृत्व र सामाजिक सद्भावको दह्रो माध्यम बनेको बताए। विश्वभरि छरिएर रहेका नेपाली संस्कृतिधारकहरूका लागि फूलपाती एक महत्त्वपूर्ण पर्व रहेको उल्लेख गर्दै उनले यसले प्रकृतिसँग मानव जीवनको पारस्परिक सम्बन्धलाई जीवन्त राख्ने धारणा व्यक्त गरे।
​”फूलपाती विजय र शुभताको प्रतीक हो। यो कुनै एक विशेष समुदाय वा हिन्दूहरूको मात्र नभएर बौद्ध, किराँत लगायत विविध मत र धर्मावलम्बीहरूले साझा रूपमा मनाउने उत्सव हो,” सांसद बिष्टले भने, “भारत र विशेषगरी हाम्रो क्षेत्रमा बसोबास गर्ने सबै समुदायका मानिसहरूले यस पर्वलाई साझा रूपमा मनाउँदै आएका छन्। यही नै हाम्रो विविधतामा एकता र लोकतन्त्रको सुन्दर उदाहरण हो।”

​अहिलेको परिवेशमा साम्प्रदायिकता र जातीय विभेदका संकीर्ण विचारहरूलाई तिलाञ्जली दिनुपर्नेमा जोड दिँदै उनले फूलपाती जस्ता सांस्कृतिक उत्सवहरूले समाजमा एकता, आपसी सम्मान र भ्रातृत्वको सन्देश प्रवाह गरिरहेको बताए। उनले सम्पूर्ण जनसमुदायलाई जातीय एकता र धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै हर्षोल्लासका साथ चाडपर्व मनाउन आह्वानसमेत गरे।
​कार्यक्रमको अन्त्यमा सांसद बिष्टले बडादशैँ तथा दुर्गा पूजाको सुखद अवसरमा सम्पूर्ण देशवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement