खरसाङ: खरसाङमा यसपाली भव्य रुपमा फुलपाती शोभा साथै सम्मान कार्यक्रम मालश्री गायन प्रतियोगिताको साथमा आयोजना गरिने भएको छ। फुलपाती शोभायात्रा साथै सम्मान कार्यक्रम आयोजक समितिको सचिव एवं जीटीएका सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी गोबिन्द छेत्रीले जानकारी गराए अनुसार यसपालीको फुलपाती शोभायात्रा यसपाली बिहान ९:३० बजीदेखि खरसाङको रेलवे स्टेशनबाट शुरु शुरु हुने भएको छ। उक्त फुलपाती सांस्कृतिक शोभायात्रा रेलवे स्टेशन परिसरमा रिबन काटेर शुरु गरिने भएको छ भने शोभायात्रा शुरु हुन अघि नै डोलीहरुलाई दर्शन गर्ने र शोभायात्रासितै खरसाङ बजार परिक्रमा गरिने भएको छ। शोभायात्रा अस्पताल मोड हुँदै वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्डमा हुँदै पार्क लोकेशनस्थित सार्वजनिक भवनमा पुगेर सम्मान कार्यक्रमना परिणत हुने भएको छ। सचिव गोबिन्द छेत्रीले अझ बताए अनुसार यस शोभायात्रामा विभिन्न संस्थानका झाँकीहरु निकालिने भएको छ। यस शोभायात्रा नौमति बाजाको अगुवाईमा साकेला शिली, खैजडी समूह, सन्त अल्फन्सेस विद्यालयका पाइपर प्याण्ड, शंखवादन, खुकुरी प्रदर्शनी, डम्फु टोली पनि हुने र यसको साथै मालश्री गायन प्रतियोगिताको पनि आयोजना हुने भएको छ। उक्त मालश्री गायन प्रतियोगिता अन्तर्गत समितिको अघिल्लो बैठकमा छलफल गरिए अनुसार शोभायात्रा अवधिभित्र नै मालश्री गायन प्रतियोगिताको प्रतिस्पर्धा रहनेछ। त्यसपछि रहल अवधिमा विभिन्न संघ-संस्था एवं जातीयताको आधारमा आफ्नो आफ्नो सांस्कृतिक जनजागरणमूलक समावेश रहनेछ। मालश्री गायन प्रतियोगिता सम्बन्धित नियमावलीहरूमा धेरै सहज र लचकता ल्याएर वर्तमान सर्वसाधारणमा चल्ती गायन परम्परालाई नै निर्णायकहरूद्वारा प्राथमिकता दिने पनि छेत्रीले जानकारी गराएका छन्। उनले थप जानकारी दिए अनुसार यसपाली खरसाङमा फुलपाती शोभायात्रा साथै सम्मान कार्यक्रममा विशेष गरेर चारजनालाई सम्मान जनाइने भएको छ। उनले बताए अनुसार लोक साहित्य र लोक संगीतम दिएको बहुमूल्य योगदानको लागि पूर्णकुमार राई बाबरी, शिक्षा क्षेत्रमा डा रागिनी थापा, समाज सेवामा वरिष्ठ समाजसेवी टीटी लामा र पशु प्रेमी सुनिल खातीलाई पनि सम्मान गरिने भएको छ। यसपाली खरसाङको फुलपाती शोभायात्रा साथै सम्मान कार्यक्रममा मुख्य अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहने भएको छ।





